मन्त्रिपरिषद विस्तारबारे प्रधानन्यायाधीशलाई जोडेर अतिरञ्जित गरियो : सर्वोच्च



काठमाडौँ : सर्वोच्च अदालतले मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई असान्दर्भिक रुपमा जोडिएको बताएको छ । मन्त्रिपरिषदमा प्रधानन्यायाधीश जबराले भाग खोजेको समाचार सार्वजनिक भएपछि सोमबार सर्वोच्च अदालतले विज्ञप्ति जारी गरी प्रधानन्यायाधीशलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित गरिको बताएको छ ।

‘संविधानतः प्रधानमन्त्रीको सिफारिसमा हुने मन्त्रिपरिषदको गठन एवं विस्तारको विषयमा सम्माननीय प्रधानन्यायाधीशज्यूलाई असान्दर्भिक रुपमा जोडेर अतिरञ्जित एवं भ्रामक समाचार प्रकाशन हुनु अत्यन्तै दुखद र खेदजन्य विषय हो’ सर्वोच्चका प्रवक्ता बाबुराम दाहालले विज्ञप्तिमा भनेका छन् । मन्त्रिपरिषद विस्तारमा प्रधानन्यायाधीश जबरालाई जोड्नु दूषित मनसाय भएको पनि सर्वोच्च अदालतले उल्लेख गरेको छ ।

प्रधानमन्त्रीबाट नेपालको संविधानबमोजिम न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र सक्षम बनाउने विषयमा आफ्नो स्पष्ट प्रतिवद्धता रहेको धारणा विभिन्न समयमा व्यक्त हुँदै आएको भन्दै सर्वोच्चको अमुक फैसलासमेतका सन्दर्भ जोडी यस प्रकारका समाचाहरु आएको सर्वोच्चको ठहर छ । यो अदालतप्रतिको जनआस्था एवं नेतृत्वप्रति प्रतिकुल प्रभाव पार्ने दूषित मनसायबाहेक केही हुन नसक्ने प्रवक्ता दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्