श्रीमतीको हत्यापछि फरार युवक पक्राउ



 

 गुल्मी : गुल्मीमा श्रीमतीको हत्या गरी फरार युवक पक्राउ परेका छन् । प्रहरीले आइतबार मदाने गाउँपालिका ६ पनाहाका ३३ वर्षका दुर्गा नेपालीलाई धाराचौर गहुँछरे भन्ने ठाउँको जंगलबाट पक्राउ गरेको हो ।

 

प्रहरी उपरीक्षक दीपककुमार बस्नेतका अनुसार उनी आफ्नी श्रीमती ३१ वर्षकी सीता नेपालीको हत्या गरी फरार थिए ।आइतबार जिल्ला प्रहरी कार्यालयमा पत्रकार सम्मेलन गरी प्रहरीले नेपालीलाई सार्वजनिक गरेको छ । जंगलमा खाली गोठमा लुकेर बसेको अवस्थामा इलाका प्रहरी कार्यालय पुर्कोटदहको टोलीले उनलाई नियन्त्रणमा लिएको एसपी बस्नेतले बताए ।

 

नेपालीले श्रीमतीको हत्या गरेको स्वीकार गरेका छन् । उनले प्रहरीमा दिएको बयानअनुसार तीजमा माइत गएकी उनकी श्रीमती कात्तिक १५ गते घर फर्किएकी थिइन् । दुर्गाले श्रीमती घर आएको खबर गाउँलेबाट पाएका थिए । त्यसपछि रक्सी सेवन गरेर घर गएका उनले घरमा श्रीमती भेटेनन् ।

 

राती ९ बजे स्थानीय राजकुमार थापाको कोही नबस्ने खाली घरमा भित्रबाट ढोका लगाई लुकेर बसेको थाहा पाएपछि दुर्गाले ढुंगाको छानो भएको पालीबाट छिरेर भित्र गएका थिए । प्रहरीका अनुसार दुर्गाकी श्रीमती सीता ४ छोराछोरीसहित त्यहाँ भुइँमा सुतिरहेकी थिइन् ।

 

दुर्गाले घर जाम् भन्दा नमानेपछि ढोकाको आगुलोले हिर्काएको बयान प्रहरीसमक्ष दिएका छन् । श्रीमतीलाई टाउको, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा हानेर उनी छोराछोरीलाई लिएर घर फर्किएका थिए । दुर्गाले आफूले भोलिपल्टमात्र श्रीमतीको मृत्यु भएको जानकारी पाएको प्रहरीसमक्ष बताएका छन् ।

 

उक्त घटनापछि फरार दुर्गा कात्तिक १७ गते राती ११ बजेको घरमा गई मकै भटमास भुटेर, कपडा, कराहीसमेत पोको पारी धाराचौर गहुँछरे भन्ने जंगलमा रहेको खाली गोठमा गएर बसेका थिए ।

प्रतिक्रिया दिनुहोस्