देशैभरका सबै विद्यालयमा लागूऔषधविरुद्धकाे इकाइ गठन हुने



काठमाडौं : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७५३ वटै स्थानीय तहका प्रत्येक विद्यालयमा लागुऔषध विरुद्धको इकाइ गठन गर्न निर्देशन दिएको छ।

गृह मन्त्रालयको अनुरोधमा सङ्घीय मन्त्रालयले स्थानीय तहका प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको स्थानीय तह समन्वय शाखाका अधिकृत जनकराज शर्माले जानकारी दिए।

मन्त्रालयले लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आगामी असार ११ गते प्रत्येक विद्यालयमा इकाइ गठन गर्न निर्देशन दिएको हो। दिवस नेपालसहित विश्वभर मनाइन्छ।

लागुऔषधको दुव्र्यसनबाट बालबालिका र युवा बढी प्रभावित हुने भएकाले लागुऔषधविरुद्ध जनचेतना जगाउन आवश्यक रहेकाले प्रत्येक विद्यालयमा इकाइ गठन गर्न थालिएको उनले जानकारी दिए । सरकारले दिवस आगामी असार ६ देखि ११ गतेसम्म मनाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्