साफमा श्रीलंकालाई २२ वर्षपछि हराउँदै नेपाल शीर्ष स्थानमा



काठमाडौं : जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले लगातार दुई खेलमा जित निकालेको छ । सोमबार राति माल्दिभ्सको मालेस्थित भएको खेलमा नेपालले श्रीलंकालाई ३-२ गोलले पराजित गर्‍यो। नेपालका लागि सुमन अर्याल , आयुश घलान र अन्जन बिष्टले सम्मान एक-एक गोल गरेका छ्न् । खेलको ३३ मिनेटमा नेपालका लागि सुमनको गोलबाट अग्रता लियो। सुरुमा श्रीलंका गोलकिपर सुजन परेराले राम्रोसँग क्लियर गर्न नसक्दा बारमा लागेर फर्कदा रिबाउन्डमा सुमनले जाली चुमाए । सुमनको यो अन्तर्राष्ट्रिय डेब्यु गोल हो ।

खेलको ५१ औं मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। नेपालका लागि अन्जन विष्टले गोल गर्न सफल भए ।  दोस्रो हाफमा मैदान प्रवेश गरेका आयुष घलानले दुई डिफेन्डरलाई छक्याउँदै पेनाल्टी क्षेत्रमा दिएको पासलाई नवयुग श्रेष्ठले हानेको प्रहारलाई श्रीलंकाका गोलकिपरले राम्रोसँग क्लियर गर्न नसक्दा आएको रिबाउन्डमा अन्जनले सहजै गोल गरे ।

५७ औं मिनेटमा श्रीलंकाले एक गोल फर्कायो । मार्विन ह्यामिल्टनले झन्डै २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गरे । त्यसको केही समयअघि काभिन्दु इशानको प्रहार गोलरक्षक बिट भइसकेको अवस्थामा सुमन अर्यालले गोललाइनबाट बल क्लियर गरेका थिए।

खेलको ८६ औं मिनेटमा आयुषले पहिलो अन्तर्राष्ट्रिय गोल गर्दै नेपाललाई ३-१ को गोल बनाएको थिए । आयुषले तेज तामाङको पासलाई पेनाल्टी क्षेत्रभित्र नियन्त्रणमा लिँदै गोलरक्षक सुजनलाई चिप गर्दै उत्कृष्ट फिनिसिङ गरेका थिए। । इन्ज्युरी समयमा श्रीलंकाले पेनाल्टी पाएको थियो । डिलन डे सिल्भाले पेनाल्टीमा गोल गर्दै श्रीलंकालाई खेलमा फर्काएका थिए । साफमा नेपालले श्रीलंकालाई २२ वर्षपछि पराजित गरेको हो।

पछिल्लो पटक नेपालले साफमा श्रीलंकालाई सन् १९९९ मा हराएको थियो।साफमा नेपाल र श्रीलंकाबीच यसअघि पाँच पटक आमने-सामने भएको थियो। जसमा नेपालले तीन खेलमा हार, एक खेलमा बराबरी र एक खेलमा जित हात पारेको थियो। साफमा नेपालले पछिल्लो पटक सन् २०१५ मा श्रीलंकाविरुद्ध प्रतिस्पर्धा गरेको थियो। सो खेलमा नेपाल १-० गोलले पराजित भएको थियो।

नेपालले सन् १९९९ को साफमा श्रीलंकालाई हराएको थियो। भारतमा आयोजित उक्त खेलमा नेपाल ३-२ ले विजयी भएको थियो। 

यस जितसँगै नेपाल दुई खेलबाट ६ अंक जोड्दै शीर्ष स्थनमा उक्लिएको छ।

प्रतिक्रिया दिनुहोस्