२४ लाख कोभिड खोप हराएको छैन : स्वास्थ्यमन्त्री खतिवडा



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री युवराज खतिवडाले २४ लाख कोरोना खोप नहराएको दाबी गरेका छन् । आज पत्रकार सम्मेलनमा आफ्नो १०० दिने कार्यकालबारे जानकारी गराउँदै उक्त, खोपको तथ्यांक आउन मात्रै बाँकी रहेको भन्दै खोप नहराएको बताएका हुन् ।

२४ लाख डोज लक्षित नागरिकसम्मै पुगेको तर स्थानीय तहहरूबाट त्यसको विवरण आइपुग्न बाँकी रहेको स्वास्थ्य मन्त्री खतिवडाको भनाई छ । २४ लाख डोज खोपको तथ्यांक छानबिनका लागि बनेको समितिले दिइएको डेडलाइनमा नै खोपको प्रकार र विवरणअनुसारको प्रतिवेदन बुझाउने उनको विश्वास छ ।

यस्तै खतिवडाले १२ वर्षमाथिका सबै नागरिकलाई वैसाख मसान्तसम्म कोभिड–१९ विरुद्धको खोप दिइसक्ने बताएका छन् । सरकारले तोकेको चैत मसान्तसम्म लक्षित सबै नागरिकलाई खोप दिइसक्ने गतिमा मन्त्रालय अघि बढिरहेको पनि मन्त्री खतिवडाले बताएका छन् । 

पत्रकार सम्मेलन गर्दै स्वास्थ्य मन्त्री खतिवडाले एक सय दिनको प्रगति विवरण सार्वजनिक गरेका हुन् । ‘प्रधानमन्त्रीज्युले घोषणा गर्नु भएको एक मात्र प्राथमिकता ‘खोप, खोप र खोप’ लाई मुर्त रुप दिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सम्पूर्ण संयन्त्र परिचालित भएको र कोभिड १९ विरुद्धको खोप अभियान राष्ट्रव्यापी रुपमा संचालन गरिएको थियो,’ मन्त्री खतिवडाले भने ।

उनले प्रस्तुत गरेको प्रगति विवरणमा पनि कोरोना खोपलाई बढी स्थान दिएका छन ।आफूले कार्यभार सम्हालेपछि १२ देखि १७ बर्ष उमेर समुहका करिब ३४ लाख बालबालिकाहरूलाई खोप दिने कार्य शुरु गरिएको उनले उल्लेख गरेका छन् ।

‘विगतमा जोखिममा रहेका गर्भवती महिलाहरूलाई मात्र खोप दिइएकोमा, हाल सबै गर्भवती महिलाहरूलाई (पहिलो त्रैमासिकपछि) खोप दिने नीति अपनाइएको छ,’ उनले भने, ‘लक्षित सबै जनसंख्यालाई पूर्ण मात्रा खोप प्रदान गर्ने तथा जोखिम समूह लक्षित बुस्टर मात्रा प्रदान गर्ने नीति अनुरुप पर्याप्त मात्रामा खोप अनुदान एबम खरिद मार्फÞत निरन्तर आपूर्ति भैरहेको छ ।’

२०७७ माघ महिना देखि संचालित कोभिड-१९ बिरुद्धको खोप अभियान समय तालिका बनाई सञ्चालन गरिएकोमा २०७८ मंसिर महिनादेखि कोभिड-१९ विरुद्धको खोप अभियान देशब्यापि रुपमा निरन्तर र नियमित सञ्चालन भईरहेको उनले जनाए ।

‘६५ बर्ष भन्दा माथिको उमेर समुह, दीर्घ रोगि एवम् फ्रन्टलाइनर्सलाई लक्षित गरि बुस्टर डोज भ्याक्सिन प्रदान गरिदै आएकोमा २०७८ माघ २७ गते देखि १८ बर्ष उमेर पुगेका सबैलाई बुस्टर डोज भ्याक्सिन प्रदान गर्ने निर्णय भैसकेको छ,’ मन्त्री खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस्