कांग्रेस एक्लै निर्वाचनमा प्रतिस्पर्धा गर्दा बहुमत आउँछः कोइराला (पूर्णपाठ)



काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेस एक्लै प्रतिस्पर्धामा जाँदा पनि बहुमत आउँने बताएका छन् । उनले एक विज्ञप्ति जारी गर्दै कांग्रेसले आमागी निर्वाचन र आउँदो प्रदेशसभा र संघीयसभा निर्वाचनमा पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गर्दा बहुमत आउँने दाबी गरेका छन् ।

कोइरालाले राखेको मन्तव्यको पूर्णपाठ यस्तो छः

आदरणिय सभापतिज्यु, पदाधिकारीहरु तथा केन्द्रिय कार्य सम्पादन समितिका साथीहरु,

महाधिबेशन सके लगत्तै हामी चुनावी वर्षमा प्रवेश गर्न लागेका छौँ । पार्टी भित्रको एकता, सद्भाव र साथीहरुको न्यायोचित ब्यबस्थापन नै हाम्रो शक्ति हो । हाम्रा घर भित्रका सानातिना घरेलु समस्या, आपसी रिस राग, मनमुटाव र असन्तुष्टिभन्दा माथी उठेर एकढिक्का हुँदै चुनावी अभियानमा लाग्नुको बिकल्प छैन । सभापतिज्युले केन्द्रदेखी वडासम्मका साथीहरुलाई एकढिक्का बनाएर पार्टी सञ्चालन गर्नुहुनेछ भन्ने बिश्वास लिएको छु र यसमा मेरो पूर्ण सहयोग रहने प्रतिबद्धता ब्यक्त गर्दछु ।

पार्टीका हरेक संरचनालाई बिना भेदभाव र पुर्वाग्रहरहित ढंगले, मापदण्ड बनाएर, विधान र लोकतान्त्रिक प्रकृया बमोजिम पुर्णता दिन आग्रह गर्दछु । मैले यो विषयलाई यस कारण प्रारम्भ मै राखेको हुँ, की पार्टीको केन्द्रिय समितिमा मनोनयन तथा केन्द्रिय कार्य सम्पादन समिति गठन गर्दा सभापतिज्युबाट कति न्याय र विवेक अपनाईयो भन्ने विषय बहसमै छ । मेरो अपेक्षा के हो भने देशकै नेतृत्व गरिरहेको लोकतान्त्रिक पार्टीमा संकिर्णता अपनाउने, भागबण्डामा रमाउने र पार्टीका धेरै साथीहरुको लामो योगदानलाई भुलेर पुर्वाग्रह र भेदभाव गर्ने प्रवृत्तिको अन्त्य हुनु पर्दछ । यसकारण सभापतिज्युले सानातिना कुराबाट माथी उठेर न्यायोचित र सम्मानजनक निर्णय गर्नुहुन्छ भन्ने बिश्वास लिएको छु ।

१. हाम्रा भातृ तथा शुभेच्छुक संस्था भनेका पार्टीका शक्ति हुन । आम समुदायलाई पार्टीको मुलधारसँग जोड्ने प्रमुख माध्यम हुन । त्यसकारण बिधि, बिधान र लोकतान्त्रिक प्रकिया बाटै यि संस्थाहरुको नेतृत्व चयन हुनुपर्छ । अहिले कतिपय भातृ संस्थाका सभापतिहरु केन्द्रिय समितिमा हुनुहुन्छ । बिधानतः यि संस्थाहरु नेतृत्व बिहिन छन । कतिपय भातृ र शुभेच्छुक संस्थाहरुको समयावधी सकिएको बषौँ समेत भैसक्यो । ति सबै भातृ संस्थाहरुलाई बिधान अनुसार अधिबेशनको प्रकियामा लैजानु पर्छ । कुनै पनि बहाना वा पार्टी बिधानको धारा निलम्वन गरेर अगाडि जान हुँदैन । हामीले निष्ठापूर्वक पार्टी बिधानको पूर्ण पालना गर्नुको विकल्प छैन ।

अतः अब रत्तिभर ढिला नगरी ती संस्थाहरुलाई चलायमान बनाउन विधान, लोकतान्त्रिक विधि र प्रकृया बमोजिम नेतृत्व चयनका लागि महाधिवेशन प्रकिया अगाडि बढाउन प्रस्ताव गर्दछु ।

२. बैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई मध्यनजर गर्दै फागुन १० गते भित्र बिधानसम्मत ढंगले बाँकी रहेका जिल्लाहरुको अधिवेशन गरौँ भन्नेमा जोड दिन चाहन्छु ।

३. स्थानीय तहको निर्वाचन घोषणा भइसकेको छ । अब हामीले गाउँदेखि सहरसम्म सबै स्थानीय निकायमा लोकप्रिय, क्षमतावान, इमान्दार र पार्टीमा योगदान पुर्याएका साथीहरुलाई बिना भेदभाव, न्यायोचित र पुर्वाग्रह रहित तरिकाले उम्मेदवार चयन गरौँ । यसो गर्न सकेमात्र हाम्रो जीत सुनिश्चित हुनेछ । र, मैले बिगतदेखि नै कांग्रेसले कांग्रेसलाई अर्थात रुख छापमै मतदान गर्न पाउनु पर्छ भन्दै आएको तथ्यलाई यहाँ स्मरण गराउन चाहन्छु । यसको अभिप्राय भनेको हाम्रो राजनीतिक आदर्श विपरित अप्राकृतिक गठबन्धन गर्नुको साटो पार्टीभित्र सुदृढ एकता कायम गर्दै, कार्यकर्ता साथीहरुको न्यायोचित व्यबस्थापन गरेर जाँदा कांग्रेस एक्लैले स्थानीय तहमा अत्यधिक सिट जित्न सक्छ । यही जितको बलले प्रदेश र संघीय निर्वाचनमा समेत कांग्रेसले एक्लै बहुमत प्राप्त गर्न सक्छ भन्ने मेरो मान्यता छ । मैले यो विषय आफ्नो व्यक्तिगत धारणाका रुपमा भन्दा पनि तल्लो तहमा बसेर काम गरीरहनु भएका पार्टीका साथीहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझाव र उहाँहरुको भावनालाई जस्ताको त्यस्तै राखेको हुँ ।

४. अहिले विश्वले नै कौतुहलतापुर्वक हेरिरहेको नेपाल सरकार तथा संसदको परीक्षणको विषय बनेको बहुचर्चित अमेरिकी सहयोग एमसीसी परियोजना अब सहयोग र अनुदानमा मात्रै सिमित रहेन । यो बिषय निकै माथी उठिसक्यो । यसप्रति हामी निकै गम्भीर बन्नु पर्ने परिस्थिति छ । यो परियोजनासँगै हाम्रो कुटनीतिक कौशलता र देशलाई नेतृत्व दिने क्षमता जोडिन्छ भन्ने मलाई लाग्दछ । नेपालको विकासका लागि आएको अनुदानलाई बिभिन्न रङ्ग दिएर अहिले भइरहेको राजनीति सस्तो लोकप्रियताका लागि हो भन्ने मेरो ठहर छ ।

अतः एमसीसीलाई सम्भव भए राजनीति दलहरुबीचको सहमतिबाट, नभए सार्वभौम संसदमा संसदीय प्रकृयामार्फत यथाशीघ्र निकास दिनुपर्छ । यदि एमसीसीबारे गठबन्धनमा सहमति नजुट्ने र संसदीय प्रकृयामा पनि लान नदिने हो भने अहिलेको गठबन्धन, सरकार, हाम्रो पार्टी र संसदको क्षमतामाथि नै गम्भीर प्रश्नहरु तेर्सिने देख्दैछु ।

५.नयाँ क्रियाशिल सदस्यता बितरण तत्काल सुरु गरौँ र विबाद भएर थाँती रहेका पुराना क्रियाशिल सदस्यताको बिधान अनुसार टुङ्गो लगाऔँ ।
अन्त्यमा,

कांग्रेसभित्रको एकता, सबै साथिहरुको सम्मान र न्यायोचित व्यबस्थापनबाट मात्रै मुलुक, लोकतन्त्र र संविधानको रक्षा तथा सम्बद्र्धन सम्भव छ । मुलुकलाई सुशासन प्रदान गरी समृद्ध बनाउन सकिन्छ । जनताको मुहारमा उज्यालो भर्न सकिन्छ । जय नेपाल ।

डा.शेखर कोइराला
२८ माघ २०७८

प्रतिक्रिया दिनुहोस्