रेल सञ्जालबारे नेपाल–भारत संयुक्त कार्यदलको बैठक नयाँ दिल्लीमा सम्पन्न



काठमाडौँ : रेलमार्ग क्षेत्रमा समग्र द्विपक्षीय सहकार्य गर्नेबारे नेपाल–भारत संयुक्त बैठक सम्पन्न भएको छ । यही आश्विन २० देखि २१ सम्म भारतको नयाँ दिल्लीमा भारत–नेपाल संयुक्त कार्यदलको पाँचौं बैठक तथा परियोजना सञ्चालन समितिको सातौं बैठक सम्पन्न भएको हो ।

बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार रेल मन्त्रालय ट्राफिक यातायात विभागका कार्यकारी निर्देशक डा. मनोज सिंहले गरेका थिए भने परियोजना सञ्चालन समितिको बैठकमा भारतीय विदेश मन्त्रालय म्एब्–क्ष्क्ष्क्ष् का सह–सचिव अनुराग भुषणले गरेका थिए । दुवै बैठकमा नेपाली टोलीको नेतृत्व नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सह–सचिव श्री केशव कुमार शर्माले गरेका थिए ।

जयनगर–कुर्था खण्डमा यात्रुवाहक रेल सेवा सुरु गर्नका लागि दुवै पक्षबीच Standard Operating Procedures (SOP) मा हस्ताक्षर गर्नुका साथै रक्सौल–काठमाडौँबीच प्रस्तावित ब्रोड गज रेलमार्गको फाइनल लोकेसन सर्भेका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो SOP ले नयाँ खण्डमा यात्रुवाहक रेल सेवा संचालनका लागि प्राविधिक सहयोग प्रदान गर्नुका साथै नेपालसँग आउँदो सीमापार रेलमार्गमा प्रारम्भिक रेलसेवाको सुरुवातका लागि मार्गदर्शक दस्तावेजको रूपमा काम गर्ने र प्रस्तावित रक्सौल–काठमाडौँ ब्रोड गज रेलमार्गले भारत र नेपालबीचको कनेक्टिभिटीलाई अझ मजबुत बनाउने दुवै पक्षको विश्वास छ ।

संयुक्त बैठकमा भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको जयनगर–बिजलापुर–बर्दिबास र जोगवनी–विराटनगर ब्रोड गेज रेलमार्गबारे पनि छलफल भएको थियो । हालै निर्माण सम्पन्न भएको भारतको जयनगरदेखि नेपालको कुर्थासम्मको ३४ किमि खण्डमा यात्रुवाहक रेल सञ्चालन गर्न हेतु गरिएको प्रविधिक पूर्वतयारीबारे पनि बैठकमा समीक्षा भएको बताइएको छ । १८.६ किमि जोगवनी–विराटनगर रेलमार्गको निर्माण चाँडो सम्पन्न गरी छिट्टै संचालनमा ल्याउन पनि दुवै पक्षबीच सहमति भएको छ ।

प्रतिक्रिया दिनुहोस्