वनमन्त्रीलाई सांसदहरुकाे आग्रह – ‘माग चाँडै सम्बाेधन हाेस्’



काठमाडौं : विभिन्न क्षेत्रका सांसदहरुले वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतलाई आआफ्नो क्षेत्रका मन्त्रालयसँग सम्बन्धित समस्या राखेका छन्।

मन्त्रालयमा पुगेका सांसदहरुले मन्त्रालयले समस्या समाधानमा तदारुकता देखाउनुपर्ने माग गरे। नवलपरासी बर्दघाट सुस्तापूर्व क्षेत्र नम्बर २ का सांसद तिलक महतले केरुङ्गे खोला नियन्त्रणका लागि पहल गर्न आग्रह गरे।

कावासोती नगरपालिका ४ का उक्त खोलाका प्रभावितहरुलाई लिएर पुगेका सांसद महतले खोलाको कटानका कारण प्रधानमन्त्रीले उद्धाटन गरेको नमुना सदरमुकाम नै जोखिममा परेको जानकारी गराए।

यस्तै यसको नियन्त्रण गर्न निर्देशन दिनुपर्ने पनि उनले माग गरे। प्रभावित क्षेत्रका स्थानीयले नदी नियन्त्रण भएन भने स्थानीयहरु नै विस्थापित हुनेतर्फ मन्त्रीको ध्यानाकर्षण गराए। यस्तै उनले चितवन राष्ट्रिय निकुञ्जका कारण रोकिएको हुलाकी राजमार्ग निर्माणलाई पूर्णता दिन निकुञ्जभित्र अन्डर पास वा ओभरपास भए पनि बनाउनुपर्ने माग राखे।

सामुदायिक वनलाई स्थानीयले उपभोग गरी लाभ लिन पाउनुपर्ने गरी नीति बनाउन सुझाव दिए। सामुदायिक वन संरक्षणमा लागेका स्थानीयहरुलाई सहज तरिकाबाट काठ दाउरा निकासी गर्न पाउने गरी कानुन बनाउनुपर्ने उनको भनाइ छ। जवाफमा मन्त्री बस्नेतले आफ्नो ध्यानाकर्षण भएको बताउँदै वैज्ञानिक वन व्यवस्थापनको कार्यान्वयनमा केही समस्या देखिएको बताउँदै यसलाई पारदर्शी बनाउँदै स्थानीयको सहभागिता बढाउने बताए।

यसमा देखिएको समस्या समाधानका लागि विज्ञहरुसँग छलफल गरेर सम्बन्धित निर्देशिका परिवर्तन गर्ने मन्त्री बस्नेतले जवाफ दिए। यता मन्त्रीलाई भेट्न पुगेका मुस्ताङ क्षेत्र नम्बर १ का सांसद प्रेमप्रसाद तुलाचनले कालिगण्डगी नदीको वहाव बढ्दै गएकाले बस्ती नै जोखिममा परेको गुनासो गरे। गाउँभन्दा कालिगण्डकी नदी उच्च बन्दै गएकाले त्यसको समाधानका लागि गिट्टी बालुवा वैज्ञानिक ढंगबाट उत्खनन् गर्नुपर्ने बताए।

उनले अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनालाई दिइएको अधिकार कटौती गरी स्थानीय तहमा दिनुपर्ने माग राखे। मुस्ताङकाे थासाङ गाउँपालिका वडा ४ र ५ पहिरोको उच्च जोखिम रहेकाले पहिरो नियन्त्रणका लागि पहल गर्न आग्रह गरे। यता बाजुरा क्षेत्र नम्वर १ का सांसद लालबहादुर थापाले पनि जिल्लामा नदी कटानले धानखेत नै जोखिममा रहेकाले तटबन्ध र नियन्त्रणमा पहल गर्न मन्त्रीलाई आग्रह गरे।

मन्त्रीसँग गुनासो राख्न पुगेका सांसदहरुले आफूहरुको माग चाँडोभन्दा चाँडो सम्बोधन गर्न मन्त्रीको ध्यानाकर्षण गराए। जवाफमा मन्त्री बस्नेतले सांसदहरुले उठाएका विषयमा गम्भीर बनेको बताउँदै सकेसक्म चाँडो समाधानका लागि प्रयास थाल्ने प्रतिबद्धता जनाए।

सांसदहरुले उठाएका केही विषयमा विज्ञसँग छलफल गरेर कार्यान्वयनका लागि मातहतका निकायलाई निर्देशन दिने बताए। निर्वाचन क्षेत्रलाई बलियो बनाउन सांसदहरु समस्याका चाङ लिएर विषयगत मन्त्रालय धाउने गरेका छन्। स्थिर सरकार भएकाले पनि सांसदहरुलाई जनताका समस्या समाधान गराउन दबाब छ। अझ नेकपानिकट सांसदहरुलाई अझ बढी दबाब भएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्