सिमेन्ट बोर्ड उत्पादन गरिने



काठमाडौं । नेपालमै पहिलो पटक सिमेन्ट बोर्ड उत्पादनको तयारी थालिएको छ । विशेष गरी घर सजावटको क्रममा घरको भित्ता अनि सिलिंङमा प्रयोग हुने सिमेन्ट बोर्ड उत्पादनको लागि तयारी सुरु गरिएको हो ।
यस क्रममा नेपाली लगानीकर्ताले चिनियाँ प्रतिनिधिहरुसँंग नेपालमा यसबारे छलफल गरेका छन् । नेपाल बोलाइएका चीनस्थित सिनोमा हानडानका दुई जना प्रतिनिधिहरुसँंग लगानीकर्ताले यसबारे नेपालमा छलफल गरेका हुन् ।
गोर्खा क्याल्सियम सिल्केट वोर्ड प्रालिको यसको उत्पादनका लागि तयारी थालिएको हो । चीनबाट आएका प्रतिनिधिमण्डलले गोर्खा क्याल्सियम सिल्केट वोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवाललगायतका प्रतिनिधिहरुसँंग यसबारे छलफल गरेका हुन् ।
सिमेन्ट बोर्ड उत्पादन गर्ने कारखाना खोल्नका लागि यसअघि नै प्रक्रिया सुरु गरिसकेको जनाइएको छ । यसका लागि काठमाडौं उपत्यका बाहिर चाहिने पाँंच विघा जग्गासमेत खरिद भइसकेको जनाइएको छ ।
गोर्खा क्याल्सियम सिल्केट बोर्ड प्रालिका अध्यक्ष इन्जिनियर कृष्णभक्त दुवालले यसका लागि आवश्यक कच्चा पदार्थ स्वदेशी नै प्रयोग हुने जनाए । स्वदेशीमै उत्पादित सिमेन्ट, सिलिकायुक्त ढुंगा अथवा वालुवा र पल्प पेपर यसको कच्चा पदार्थको रुपमा रहने उनले जनाए । ‘यसमध्ये पल्प पेपर मात्रै विदेशबाट आयात गर्नुपर्ने हुन्छ, प्रालिका अध्यक्ष इन्जिनियर दुवालले नागरिकसँंग भने, सिलिकायुक्त वालुवा ढुंगाको लागि नेपालको विभिन्न खानीबाट नमूना लिई चीनमा पठाएर जाँंच गराइ ओकेसमेत भइसकेको छ ।’ यसको लागि आवश्यक मार्केट रिसर्चसमेत भइसकेको दुवालले जनाए ।
यस्तोखाले सिमेन्ट बोर्ड उत्पादनको यो पहिलो कम्पनी हुने जनाइएको छ । जनाइए अनुसार हाल नेपालमा प्रयोग हुने सिमेन्ट बोर्ड सवै विदेशबाट आयात गर्नुपर्ने अवस्था छ । नेपालमा वार्षिक लगभग ८० करोडको हाराहारीमा सिमेन्ट वोर्डहरु भारत, चीन, बैंककलगायतका देशहरुबाट आयात भइराखेको जनाइएको छ ।
सिमेन्ट बोर्डको लम्वाई चार फिट, चौडाई आठ फिट र मोटाई ४ दशमलब पाँंच मिमिदेखि २२ मिमिसम्म हुने जनाइएको छ । विशेषरुपमा बनाइने सिमेन्ट वोर्ड लचकदार भई मोटाई कम भए पनि नभाँंचिने जनाइएको छ ।
यसको प्रयोग विशेष गरी घरको भिता र सिलिंग सजावटमा प्रयोग गरिने गरिन्छ । यसका साथै फर्निचर, मोडुलर किचेन बनाउन पनि यसको प्रयोग हुने हुन्छ । साथसाथै इको प्यानल (स्थायी तथा अस्थायी संरचनामा भित्री तथा वाहिरी पार्टेशन वालको रुपमा प्रयोग हुने) बनाउन पनि यसको प्रयोग हुने गर्दछ । यसको प्रयोग नेपालमा भूकम्प पश्चात अस्थायी टहराहरुमा भिताको रुपमासमेत वढी प्रयोग भएको देखिएको थियो ।
यो अग्नी नियन्त्रक हुन्छ । घरमा आगलागी भए यो नबल्ने भएकाले यसको प्रयोगबाट घर आगलागीबाट सुरक्षित हुन सहयोग हुनेसमेत जनाइएको छ । कारखाना खोल्नका लागि करिव एक सय करोडको लगानी लाग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्