जंगली च्याउ खाँदा ६ जनाको मृत्यु



पाल्पा : जिल्लाको निस्दी गाउँपालिकामा जंगली च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ। गत शुक्रबार च्याउ खाएर केही बिरामी भएका थिए।

जंगली विषालु च्याउको तरकारी खाएकामध्ये निस्दी–३ सार्कीडाँडाका ९ वर्षीया निर्मलासिं ठुकरी ४ वर्षीय विष्णुसिं ठकुुरी, ७ वर्षीय सुमनसिं ठकुरी, निशासिं ठकुरी, निरुतासिं ठकुरी र ४५ वर्षीय पुरन खाम्चाको निधन भएको संघीय सांसद दलबहादुर रानाले जानकारी दिए।

बिरामीमध्ये निर्मलाको मध्यविन्दु अस्पताल नवलपरासी विष्णुको पुरानो मेडिकल कलेज भरतपुर तथा अन्यको काठमाडौंका विभिन्न अस्पतालमा निधन भएको हो। नजीकैको जंगलबाट खोजेर ल्याइएको च्याउ पकाएर तरकारी खाएका सार्कीडाँडाका ११ जना बिरामी परेका थिए।

बिरामीलाई नवलपरासीको मध्यविन्दु अस्पताल, मनकामना अस्पताल तथा पुरानो मेडिकल कलेज भरतपुर, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौं लगायत काठमाडौंका विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

बिरामी ८० वर्षीय प्रेमसिं ठकुरी उपचारपछि घर फिर्ता आइसकेका छन्। अन्य बिरामी ३६ वर्षीया चनकुमारी खाम्चा, उनकी छोरी १५ वर्षीया विमला, ३० वर्षीया दानमायासिं ठकुरी र धनकुमारी सिंको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

पाल्पा सदरमुकाम तानसेनदेखि करीब ७० किमी पूर्व सार्कीडाडाँका चार परिवारका सदस्य बिरामी परेका हुन्। प्रतिनिधिसभा सदस्य रानाले गृह मन्त्रालयबाट मौखिक निर्णय गराई बिरामीको निःशुल्क स्वास्थ्योपचारको पहल भएको जानकारी दिए।

बिरामी तथा ज्यान जानेको परिवारमा सहयोगका विषयमा छलफल तथा बिरामीको स्वास्थ्यावस्था सन्दर्भमा आज कावा प्रधानमन्त्री ईश्वर पोखरेलसँग छलफल हुने सांसद रानाले बताए।

प्रतिक्रिया दिनुहोस्