सर्लाहीमा फोनमा कुरा गर्न ३ किलोमिटर यात्रा



सर्लाही । सञ्चार र सूचनाको क्षेत्रमा ठूलो फड्को मारेको नेपालमै फोनमा कुरा गर्न तीन किलोमिटरको यात्रा गर्नुपर्ने अवस्था छ। प्रविधिको युग भनिएको छ। नेपालमै फोरजी सेवा सुरु भइसकेको छ।

नेपाल दूरसञ्चार प्राधिकरणले देशका कुनाकुनामा दूरसञ्चारसहित फोरजी सेवा पु¥याइरहेको भए पनि सर्लाहीका विष्णु गाउँपालिकाका स्थानीयले भने सुलभ रुपमा दूरसञ्चार सेवासमेत लिन पाएका छैनन्।

केही समयअघि सञ्चार मन्त्रालयले फाइभजी सेवा परीक्षण तत्काल गर्न टेलिकमलाई निर्देशन दिएको खबर सुनेका विष्णु गाउँपालिकावासी अहिले पनि फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने अवस्था छ।

विष्णु गाउँपालिकास्थित सिमरा फेनहरावासी आफन्तसँग फोन गर्न तीन किलोमिटरको यात्रा पूरा गर्नुपर्ने बाध्यता छ। नेपाल–भारत सिमावर्ती क्षेत्र विष्णु गाउँपालिकाको अधिकांश गाउँमा कुनै पनि फोन कम्पनीको नेटवर्क आउँदैन।

कसैसँग फोन सम्पर्क गर्नुपरेमा नेटवर्क आउने स्थान खोज्न मोटरसाइकलमा निस्कनुपर्ने विष्णु गाउँपालिका–५, फोनहराका रंजित रायले बताए।
‘मोबाइल फोन सेवा बिजोक छ। हामीले धेरैलाई भनिसक्यौँ, आजसम्म केही भएन,’ उन्ले भने, ‘केही घटना भयो वा कसैलाई फोन गर्नुपरे मोटरसाइकल स्टार्ट गरेर तीन किलोमिटर टाडा जानुपर्छ।’ कुनै पनि दूरसञ्चार कम्पनीकको सिमले काम नगर्ने उनले बताए।

शनिवार बिहानै आफन्तसँग फोनमा कुरा गर्नुपर्ने भएपछि नेटवर्क खोज्न मोटरसाइकलमा तीन किलोमिटरको यात्रा तय गरेको स्थानीय वीरेन्द्र साहले बताए। फोन सेवा राम्रोे नहुँदा आफ्नो गाउँपालिका जिल्लासगँको सम्पर्क बाहिर रहेको विष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए।

‘फोनमा राम्रो कुरा हुँदैन। इन्टरनेटको पहुँच छैन,’ उनले भने, ‘फोन सेवा नहुँदा त दिउँसै अन्धकारमा बसेको जस्तो हुन्छ। के गर्नु, आफुले केही गर्न सकिँदैन। टेलिकमदेखि मन्त्रीसम्म गुहारी सकेँ, कुनै उपाय लागेन।’ यसले गाउँपालिकाकोे सेवा प्रवाह र जनतासगँको सम्पर्कमा रहनसमेत समस्या भइरहेको अध्यक्ष यादवले बताए।

फोनको टावर टाडा भएको कारण नेवटर्कको समस्या भएको प्राविधिकहरूको भनाइ छ। गाउँपालिकाकाले पालिकाका कार्यलयको छतमै ल्याएर टावर राखिदिन आग्रह गर्दासमेत सम्बन्धित निकायले ध्यान नदिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सञ्जिव सापकोटाले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्