मोतीपुर औद्योगिक क्षेत्रमा गोली चल्दा पाँच घाइते



बुटबल । रुपन्देहीको मोतिपुर औद्योगिक क्षेत्रको जग्गा कब्जा गर्ने समूहमाथि प्रहरीले गोली चलाउँदा कम्तीमा पाँच जना घाइते भएका छन् ।
प्रहरीमाथि ढुंगामुढा गर्न थालेपछि प्रहरीले गोली चलाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए ।
अहिले मोतीपुर तनाबग्रस्त छ । प्रशासनले अतिक्रमण भएको औद्योगिक क्षेत्रको जग्गाबाट स्थानीयलाई हटाउन खोज्दा तनाब सिर्जना भएको हो ।
प्रहरीले अस्थायी रुपमा बनाइएका टहराहरु भत्काउन खोज्दा झडप भएको हो । झडपमा परी दुई जना घाइते भएका छन् भने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
झडपमा प्रहरीले अत्याधिक बल प्रयोग दुई राउण्ड गोली चलाएको स्थानीयले आरोप लगाएका छन् । राती १ बजे घर घेराउ गरी स्थानीय ३१ बर्षीय हिमाल रानालाई प्रहरीले पक्राउ गरेको पनि स्थानीयको आरोप छ । बुटवल वडा नं १७ र १८ मा पर्ने औद्योगिक क्षेत्रको नदी उकास क्षेत्रमा गत सातादेखि ठूलो संख्यामा अस्थायी टहरा बनाएर जग्गा अतिक्रमण भएको थियो ।
प्रशासनले तीन दिनदेखि रातीमा टहराहरु भत्काइदिदैं आएको थियो । तर, त्यसरी पनि अतिक्रमित जग्गाबाट स्थानीय हट्न नखोजेपछि प्रहरीले बल प्रयोग गरेको हो । जग्गामा गत चैतमा औद्योगिक क्षेत्रको शिलान्याश गर्दा स्थानीयले पनि विरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्