रुपन्देहीको मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी



बुटबल । बुटवलको मोतीपुर क्षेत्रमा कर्फ्यू आदेश जारी भएको छ ।
मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न आएका स्थानीय र प्रहरीबीच झडपले उग्र रुप लिएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आइतबार दिउँसो ४ बजेदेखि अर्को आदेश जारी नभएसम्मको लागि कर्फ्यू आदेश जारी गरेको हो । आइतबार बिहानैदेखि बुटवलको मोतीपुर क्षेत्र तनावग्रस्त भएपछि प्रशासनले मोतीपुरमा कर्फ्यु आदेश जारी गरेको हो । प्रशासनले निर्माणाधीन औद्योगिक करिडोर क्षेत्रको जग्गाका विषयमा उत्पन्न तनावका कारण कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।
झडपका क्रममा प्रहरीले गोली समेत प्रहार गरेको थियो । झडपको क्रममा कम्तिमा छ जना घाइते भएका छन् । औद्योगिक क्षेत्रमा सुकुम्बासीले बनाएका अस्थायी टहराहरू प्रहरीले भत्काउने क्रममा झडप भएको हो ।
प्रहरी माथि नै ढुंगामुढा हुन थालेपछि अश्रुग्यास र हवाइ फायर गर्नुपरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले जानकारी दिए ।
पूर्वमा बुटवल १७ सिवनगरदेखी वडा नम्बर १८ सौंरहिया पुलसम्म, पश्चिम हरिहरपुरको खेतीयोग्य जमिन, उत्तरमा शिवनर रानीगञ्ज बस्ती र दक्षिणको वडा नम्बर १८ को मोतीपुर औद्योगिक करिडोरको जमिन अन्तर्गत धन्दापुर सौंरहिया भित्रको क्षेत्रमा कर्फ्यू आदेश जारी भएको जिल्ला प्रशासन कार्यालयद्वारा जारी सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्