अछाममा जन्ती बोकेको जीप दुर्घटना, चार जनाको मृत्यु



अछाम : अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य १४ जना घाइते भएका छन् । प्रहरीले जनाए अनुसार जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–१ मा आइतबार राति ११ बजेतिर जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो ।

दुर्घटनामा पन्चदेवल विनायक नगरपालिका-२ का १४ वर्षीय जीवन न्यौपाने, सोही ठाउँका १८ वर्षीय सर्प बोहरा, विनायक नगरपालिका-३ का १७ वर्षीय जीवन जैसी र १७ वर्षीय हिमाल नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । तीन जनाको घटनास्थलमै र नेपालीको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा मृत्यु भएको हो । घाइतेको जिल्ला अस्पताल अछाममा र नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जीप कच्ची सडकखण्डमा ब्याक गर्ने क्रममा अनियन्त्रित भएर करिब दुई सय मिटर तल खसेको छ । चालकको पहिचान हुन नसकेको र खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्