दुई सातामा सुदूरपश्चिमका विभिन्न नाकाबाट भित्रिए ३४ हजार नेपाली



धनगढी : पछिल्लो समय भारतबाट नेपाल फर्किनेहरूको लर्को नै लागेको छ । दशैं–तिहारलगायतका चाडपर्व मनाउनका लागि सुदूरपश्चिमका प्रमुख नाकाबाट स्वदेश फर्किनेको लर्को लागेको हो। भारतका विभिन्न सहरबाट चाडपर्व मनाउन सुदूरपश्चिमकोे गड्डाचौकी र गौरीफन्टा नाकाबाट स्वदेश फर्किनेको संख्या वृद्धि भएको छ। बितेको दुई सातायतायता कञ्चनपुरको गड्डाचौकीबाट २४ हजार र गौरीफन्टा नाकाबाट दश हजारभन्दा बढी नेपाली स्वदेश फर्किएको प्रहरीले जनाएको  छ।

स्वदेश फर्किनेको भीड बढेपछि प्रहरीले सीमा क्षेत्रको सुरक्षा सर्तकतासमेत बढाएको छ।  गड्डाचौकी नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन गरेर निगरानी बढाइएको छ । भने यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालयले चाडपर्वका बेला हुनसक्ने आपाराधिक गतिविधि नियन्त्रणका लागि चाडपर्व लक्षित सुरक्षा योजनासमेत बनाएर शान्ति सुरक्षाका लागि खटिएको छ। त्यसैगरी डोकेबजारस्थित प्रहरीचौकी पचगडियाका प्रहरी नायब निरीक्षक दिपेन्द्र थापाले चाडपर्व मनाउन स्वदेश फर्किने क्रम यहाँबाट पनि बढेको बताए।

सो नाकाबाट दैनिक पाँच सयदेखि एक हजार ४०० सम्म भित्रिएको तथ्याङ्कले देखाएको छ। भारतबाट घर फर्किनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले जिल्ला स्वास्थ्य कार्यालयले सीमामा परीक्षण र खोप लगाउने कामलाई अघि बढाएको छ। स्वास्थ्य कार्यालयले गड्डाचौकीमा सङ्क्रमण देखिएकालाई कम्युनिटी हेल्थ इन्स्टिच्युटको आइसोलेशनमा राख्ने गरिएको छ। स्थानीय प्रशासनले भारतीय नागरिकलाई भने आधार कार्ड, कोराना परीक्षण गरेको कागजात देखाएमात्रै नेपाल प्रवेश गर्न अनुमति दिएको छ।

प्रतिक्रिया दिनुहोस्