गण्डकी प्रदेश सांसद डोबाटे विश्वकर्मा मन्त्री नियुक्त



पोखरा : गण्डकी प्रदेश सरकारमा डोबाटे विश्वकर्मा मन्त्री नियुक्त भएका छन् । उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले मन्त्री नियुक्त गरेका हुन्। कांग्रेस सांसद विश्वकर्मालाई बिना विभागीय मन्त्री नियुक्त गरिएको छ। कांग्रेस सांसद डोबाटे तनहुँका हुन्। उनको सोमबार साँझ ५ बजे प्रदेश प्रमुखको कार्यालयमा शपथ हुने बताइएको छ।

डोबाटेको नियुक्तसँगै गण्डकी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित १२ सदस्यीय मन्त्रपरिषद् भएको छ । गत साउनमा मन्त्रिपरिषद् विस्तार गर्दा मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले शपथका लागि तयारी गर्दै गरेका विश्वकर्मालाई मन्त्री नबनाएर उनको स्थानमा बिन्दु कुमार थापालाई मन्त्री बनाएका थिए। जसको चर्को आलोचना भएको थियो ।

त्यतिबेला गण्डकी प्रदेश सरकारमा कांग्रेसबाट ३ जना मन्त्री थपिएका थिए। तीनै जना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवानिकट हुन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका सांसद विश्वकर्माको नाम अन्तिम समयमा काटिएको थियो। उनको स्थानमा पोखराका विन्दुकुमार थापालाई मन्त्री बनाइएको थियो।

प्रतिक्रिया दिनुहोस्