घर जस्तो रमाईलो छैन आश्रम



जब दशैं नजिकिन्छ मन निकै दुखि हुन थाल्छ ७५ बर्षीय हरिबोल भण्डारीको । समाज कल्याण केन्द्र पशुपति वृद्धाआश्रममा रहेका भण्डारीलाई जब चाडबाड आउँछ आफ्नो परिवार, गाउँघर सम्झेर मन कुडिँन थाल्छ । जन्मथलो काभ्रे भएका भण्डारीले ५ वटा दशँै पशुपति वृद्धाश्रममै मनाए । राम्रोसँग पढ्न र लेख्न सक्ने उनलाई हरेक चाडपर्वहरू कहिले र कुन दिन परेको छन् राम्रैसँग याद हुन्छ ।

असोज महिना सुरु हुनेबित्तिकै गाउँघरमा बसेर आफ्नो परिवार सगँ दशैमनाएको, तास खेलेको पिङ हालेको खुब याद आउँछ हरिबोललाई । रमाइलो मान्दै सुनाउछन् ‘पिङ मच्चाउन मैले जति कसैले सक्दैनथियो गाउँमा ।’ आफ्नो दाहिने हात देखाउँदै भन्छन् ‘यी यो हेर्नुस पिङ हाल्न बाँसकाट्दा खुकुरीले काटेको चोट हो।’ त्या,े ‘बर्षको दशै नरमाइलो भयो नी हातले साह्रै दुख दियो तास खेल्न समेत सकिन उनले हास्दै सुनाए ।’ पहिला का दशै सुनाउँदै गर्दा उनका आँखामा आशु भने थामिएनन् दशैआएपछि आजभोली खुशि लाग्दैन् भण्डारीलाई। २०८६ सालमा पत्नीको मृत्यु भएपछि आफ्नो एउटै सहारा छोराको साथ लागेर काठमाडौ आए ।

छोराको साथमा गोकर्ण बस्दै आएका थिए हरिबोल । पेसाले वकिल छोरो र नर्स बुहारीसँग हरिबोलको बिछोड भएको ५ वर्ष बितिसकेको छ । २०७२ सालको भूकम्पले गोकर्णमा रहेको घर भत्कियो भने छोराबुहारी विदेश उडे । त्यस वर्षको दशैंको टीकाको दिन नै उनका छोराबुहारी उनलाइ एक्लै छाडेर अष्टे«लिया गएका थिए । आफूलाई एक वर्षभित्र लिन आउने भनेर एउटा कोठामा छोडेर गएका उनीहरू अझै फर्केर नआएको र एकपटक पनि सोधीखोजी नगरेको उनको दुखेसो छ । ‘सात महिना कोठामा बसेँ आफूसँग भएको खर्च पनि सकियो, कोठाभाडा तिर्न नसकेपछि घरबेटीले वृद्धाश्रमसम्म ल्याएदिए,’ उनले भने ।

हरिबोल आफूलाई बुढेसकालको अभागी ठान्छन् । भन्छन्, ‘हामी जस्ता अभागी बाबुआमालाई यस्ता चाडपर्व नआएकै राम्रो लाग्छ । जति चाडपर्व नजिक आउँछन् उति नै पुरानो कुराहरुकोे अनि सन्तानको सम्झना आउने गर्छ ।’ आश्रममा आफूजस्तै अरूलाई देख्दा अलिकति चित्त बुझ्ने भए पनि सम्झनाले सताइरहन्छ उनलाई । सानो हँुदा एकछिन छोड्न नमान्ने छोराछोरी ठूला भएपछि बाबुआमा छोड्न अघि सर्ने गरेको देख्दा नराम्रो लाग्ने गरेको भण्डारी बताउँछन् ।

धादिङकी मखमली विकले घर छोडेको सात वर्ष पुगेको छ । आफ्नो उमेर याद कति भयो भन्ने पनि उनलाई हेक्का छैन । सात वर्षमा उनलाई छोरी चारपटक र छोरा तीनपटक भेट्न आश्रममा आए । मखमली एक छोरा र दुई छोरीकी आमा हुन् । नातिनातिना पनि छन् । उनीहरू भेट्न नआएको ४ बर्ष पुगेको छ । ‘छोराले दुई बिहे ग¥यो । आफूकाम गर्न सक्न छोडेपछि कस्ले पाल्ने भन्ने निउमा झगडा हुन थाल्यो अनि घर छोडेर हिडे । मखमली भन्छिन् ‘काठमाडौ मा अरुको घरमा भाडामाझेर ३ बर्ष बसे तर बिरामी भएपछि सडमा ल्याएर छोडिदिए खै कस्ले हो यहाँ सम्म ल्याइदिए ।’ आश्रममा सबै कुरको सुविधा भएपनि उनलाइ घरको याद भने खुब आउँछ । विक भन्छिन् ‘तर कसैले नपालेपछि कहाँ जानु छोराछोरी सगँदेख्न भेट्न मन कस्लाइ हुन्न र ।’ कसैले मिठो खानेकुरा दिँदा र कसैले आमा भनेर बोलाउँदा उनलाई खुसी लाग्छ । चाडपर्व नजिक आउँदा सन्तानको धेरै याद आउँछ । भन्छिन्, ‘मलाई याद आएरमात्रै के गर्नु आएर उनीहरूलाई मेरो याद नआएपछि ।’

आश्रममा अरू वृद्धवृद्धाको अवस्था पनि मखमलि र हरिबोल जस्तै छ । ४ बर्षदेखि आश्रमलाई नै आफ्नो घर बनाएका सुरदिन मल्ललाइ भने सबैबाट टाढा बस्ने बानि परिसकेको छ । ६८ बर्षका मल्ल भन्छन् ‘ जुनकुरा मिल्दैन त्यसको बारेमा चिन्ता लिएर के हुन्छ ।’ मेरो पनि घरपरिवार छ छोराछोरी छन् तर उनीहरुको लागि बृद्धबाबु आमा छैनन् ।’ धेरैजसो वृद्धवृद्धाहरू आफ्ना सन्तान र घरपरिवार भएर पनि आश्रममा आश्रय लिइरहेका छन् । चाडपर्व मा घरपरिवार बसेर दुख सुख बाड्दै मनाउदा जति रमाइलो हुन्छ आफ्ना आफन्त र परिवार देख्नकै लागि छड्पटिनु पर्ने हरुलाइ उत्तिनै पिडा हुन्छ । वृद्धाश्रममा बस्दै आएकी कुन्ती बास्तोला भन्छिन, ‘दुई छोरा जन्माएर पनि सुख पाइनँ’, दुखि हुदै भनिन् ‘आखिर बुढेसकालको सहारा वृद्धाश्रम नै रहेछ ।’यसैले मलाइ त कसैको सम्झना नै आउँदैन् ।

‘एक छाक मासु खानालाई दशैं नै कुर्नुपथ्र्यो उ बेला त’ सिन्धुलिका ८० वर्षीया सुन्दर तामाङको अनुभव हो यो । उनीलाई राम्रैसँग याद छ पेटभरि चिउरा खाना दशैं कुरेर बसेको ।

‘अहिलेजस्तोछाक नै पिच्छे मासु खाने चलन पनि थिएन बल्ल बल्ल दशैंमा एक छाक भैसीका मासु खाइन्थो’उनले भने ‘ति दशैं निकै रमाइला थिए।’ तर अहिले दशैं मनाउने चलन नै फरक बन्दै आयो ।

अहिले दशैं आएसँगै गाउँघरको सम्झनाले छात्ती पोल्न थाल्छ उनलाई । दशैंमा गाउँभरी भैंसी, राँगा र कुखुरा काट्ने घरमै रक्सी बनाउने र धुमधामले चाड मनाउने गर्थे उनका परिवारले । परिवारबाट एक्लो बनेपछि गाउँकै एक व्यक्तिले पशुपति स्थित आश्रमसम्म ल्याएर छोडिदिए उनलाई । ‘म त यहाँ आएको १५ वर्ष पुगिसक्यो’ हातका औंलाको इशारा गर्दै उनले भने ‘यहाँ आएदेखि के दशैं के तिहार।’ साना बालबालिकालाई राम्रो लुगा लगाउने चाहना भएजस्तै बुढेसकाल लागेका वृद्धवृद्धालाई मिठो मसिनो खाने रहर त हुन्छ नै । तर त्यो रहर पनि आश्रमलेपूरा गर्न नसकेको उनी बताउँछन् ।

‘गाउँघरमा दशैंमा प्रशस्त मात्रामा मासु खाना पाइन्थ्यो’ उनले भने ‘आश्रममा त ४ वर्ष भयो माछा मासु देख्न पाइदैँन।’ चाडपर्वमा मात्र होइन अन्य समयमा पनि आश्रम शाकाहारी बन्दै गएको भन्दै उनीहरुले गुनासो समेत पोखे ।

अहिले आश्रममा भएका बृद्धाबृद्धलाइ घरको झल्को मेटाउने गरेर विभिन्न कार्यक्रमहरु समेत गरिदै आएको छ । वृद्धाश्रमका प्रमुख मनोज बास्तोला भन्छन् ‘उमेरमा तिनै छोराछोरीलाई संसार देखाउन दुःख गर्ने धेरै बाबुआमा अशक्त भएपछि वृद्धाश्रममा पुग्ने गरेका छन् ।’ मन नै नभएपनि वृद्धाश्रममा खुसी हुनु उनीहरूको बाध्यता हुने गरेको उनको भनाइ छ । उनले भने ‘धेरैलाइ आश्रम जेलजस्तो लाग्छ तर परिवारले नै नहेरेपछि बाध्य भएर धेरै बृद्धाबृद्धहरु बसेका छन् ।’

प्रतिक्रिया दिनुहोस्