कोलकत्तादेखि जनकपुरसम्म साइकल यात्रा



जनकपुरधाम । ‘नदी नाला बचाउ, रुख बिरुवा जोगाऔं’ सन्देश लिएर भारतको कोलकत्ता २४ परगना निवासी रामप्रसाद नस्कर पछिल्लो डेढ महिनादेखि नेपाल–भारतको यात्रामा जनकपुरधाम आइपुगेका छन् । भारत र नेपालसहित विश्वमा दिनानुदिन ‘ग्लोबल वार्मिङ्ग’ अर्थात पर्यावरण प्रदूषणबारे जागरुकता गर्ने अभिप्रायका साथ उनले कोलकत्तादेखि जनकपुरधाम सम्मको यात्रा तय गरेका हुन् ।
कोलकत्ताबाट दिल्ली, युपी, विहारको पटना, सिलिगुडी हुँदै काकरभिट्टा नाकाबाट नेपाल प्रवेश गरेका रामप्रसाद नस्करले कोशी, कमलाको अवलोकन भ्रमण तथा सचेतना फैलाउँदै जनकपुरधाम आइपुगेका छन् । २० सेप्टेम्बरमा कोलकत्ताबाट निस्किएका उनी जनकपुरधाम हुँदै काठमाडौं, मुक्तिनाथ, पोखरा, लुम्बिनी हुँदै पुनः भारत फर्किने छन् ।
यसअघि उनले बङ्गलादेशसहित भारतको झारखण्ड, उड़ीसा, छत्तीसगढ़, महाराष्ट, आन्ध्र प्रदेश, कर्नाटक, केरल, पांडिचेरी, कन्याकुमारी, गोवा, गुजरात, भोपाल, राजस्थान, दिल्ली, जम्मू कश्मीर, चंडीगढ़, पंजाब हरियाणा, हिमाचल प्रदेश, उत्तराखंड, लखनऊ, इलाहाबादसहितको यात्रा गरिसकेका छन् । उनी प्रत्येक दिन सय देखि १ सय ५० किलोमिटर सम्मको यात्रा तय गर्छन् । बाटोघाटो बस्नेदेखि खानेसम्म व्यवस्था आफै गर्ने र केही स्थानहरुमा सहयोग समेत पाउने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्