हिमाल र पहाडका जनताले काँग्रेस सभापतिमा मलाई चाहेका छन् : निधि



जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले १४ औँ महाधिवेशनमा पार्टी सभापतिका लागि आफूलाई सहयोग गर्न शेरबहादुर देउवासँग आग्रह गरेका छन् ।
सभापति देउवाले आफूलाई १३ औँ महाधिवेशनकै बेला आफूलाई सहयोग गर्ने वचन दिएको उनले बताए ।
धनुषा निर्वाचन क्षेत्र २ मा विजयादशमीको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलामा उपसभापति निधिले भने,‘सभापति देउवाले त्यसबेला सबै नेताहरूबीच यो मेरो अन्तिम पटक हो, अब तपाईं नै हो भन्नुभएको छ । त्यसैले यसपालि सभापति देउवाले मलाई सहयोग गर्नुहुन्छ ।’
उनले हिमाल, पहाड र तराईबासीबीच भावनात्मक सम्बन्ध जोड्न १४ औं महाधिवेशनमा सभापति पदमा उम्मेद्वारी दिने फेरि दोहो¥याउँदै उनले भने, ‘हिमाल र पहाडका साथीहरूले नेपाली काँग्रेसको सभापतिमा मलाई हेर्न चाहनुभएको छ ।’
निधिले निर्वाचन क्षेत्रबाट सभापतिमा समर्थन गर्न सबैसंग अनुरोध गरे । उनले भने, ‘सभापति बनेर देश र जनताको सेवा गर्ने इच्छा छ, तपाईंहरुको समर्थन चाहेको छु ।’ उपसभापति निधीले अबको ५ वर्षपछि पार्टीको नेतृत्व युवापुस्ताले गर्ने दाबीसमेत गरे ।
उनले भने, ‘अब ५ वर्षपछि हुने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवा पुस्ताको दाबेदारी रहने भएकाले अबको ५ वर्षपछि युवापुस्ता नेतृत्वमा पुग्छ ।’

प्रतिक्रिया दिनुहोस्