बाल्यकालको त्यो दशैं…



कोदो फूल्यो बारीमा
धानको बाला झूल्यो खेतैमा
कत्ति राम्री देखिन्छौ बरी लै
जमरा र रात्तो टिकै मा ।
असोजको अगिल्लो हप्ता देखिनै गाउँका प्रत्येक घरको रेडियोमा यो गित गुन्जिन सुरु भईसकेको हुन्थियो । जब दशै नजिक आउँन थाल्छ कमेरो माटोले पोतेर चिटिक्क पारेका अनि आगँनको डिलमा मखमलि फूलेका घरहरु साह्रै सुन्दर देखिन थालिसकेका थिए गाउँमा । म भने स्कुल कहिले बिदा होला र घरमा बस्न पाइएला भनेर दिन कुरेर बस्थे । दशै विदाको पहिलो दिन घटनास्थपना थियो । ‘‘आमा आजबाट स्कुल बिदा भयो मेरो, अब साथिहरु सगँ खेल्न जान्छु है ।’’ आज त जमरा राख्ने दिन हो बारीबाट मलिलो माटो खोजेर ल्याउँनु म नुहाएर आउँछु भन्दै आमा पधेरो तिर लाग्नु भयो । जमरा राख्ने भन्ने बित्तिकै मनमा खुसिको सिमानै रहेन घरभित्र रहेको डालो बोकेर बारिमा माटो लिन हिडिहाले म । जमरामा पानि राख्ने र दियो बाल्ने काम मेरै हुन्थियो । गाउँभरीका साथिहरु मिलेर साँझपख जमरामा राख्ने पानी लिन अंखोरा बोकेर पधेरा जाने गर्थियांै । आमाले जमरामा चोखो पानी राख्नुपर्छ घर नजिकैको पधेँरोमा गएर ल्याउँनु भनेर सिकाउँनु हुन्थियो ।

घटस्थापना अगाडि नै घरमा भएका फलामका सबै हतियार जम्मा गरिन्थयो । हँसिया, बन्चरो, खुँडा, खुर्पा, खुकुरी, कर्द, दाउँ, कट्टी र तलबार हुन्थे फलामका मुख्य हतियार । बोरमा यी हतियार बोकेर आरन लाने गरिन्थ्यो । हजुरबा जानु हुन्थ्यो यो काममा । म लुसुलुसु पछि लाग्थेँ । आरनमा हतियार धार लगाएको हेर्न खुबै रमाइलो लाग्थ्यो मलाई । दशैको लागि भनेर महिना दिन अगाडीदेखि आमासँग रुदै नयाँ लुगाको माग गरेको हुन्थे । अहिले जस्तो कहाँ विभिन्न डिजाइनको लुगाँहरु लगाउँन पाउँनु र हाम्रो दशैमा । अघिल्लो तिहारमा माइजुले आमालाई उपहारमा दिएको फुलबुट्टे साडीलाई काटेर माइला दाईले चिटक्क पारेको जामा सिलाइ दिनु भएको थियो । त्यो साडीको जामा लगाएर गाउँमा टिका लगाउन जादा सबैभन्दा राम्रो म देखिएको छु जस्तो लाग्थियो आफूलाई ।

दशैंको लागि सरसफाइ गर्ने, दाउँरा खोज्ने , धान भिजाएर ढिकीमा चिउरा कुट्ने लगाएतका कामले गाउँलेहरु सबै ब्यस्त भईसकेका थिए । गाउँले हरु सबै आ — आफ्नो काममा व्यस्त भएका बेला साथिहरु सँग मिलेर काक्रो, अम्बा चोरीगर्न अरुको बगैँचामा पुग्ने काम थियो हाम्रो । कत्ति पटक चोरीगर्दा गर्दै भेटेपछि आमाले घरको मूल थाममा बाधेर राखिदिनु हुन्थियो। जत्ति पिटेपनि डर देखाएपनि साथिहरु सँग मिले उट्पट्याङ् गर्न भने छोडिएन । हामी केटाकेटीहरुलाई भने स्कुल छुट्टी भएकै दिनदेखि दशै सुरु हुन्थियो ।

शहर गएकाहरु गाउँ फर्किन थालेका थिए, लाहुरे दाईहरु ठूलाठूला झोला बोकेर क्यासेट बजाउँदै घरमाथिको बाटोबाट आउँने क्रम सुरु भईसकेको थियो । लाउरे दाईहरु सँग दोबाटोमा मिठाई माग्न साथिहरु सँग समूहनै बनाएर बस्ने गर्थियौ हामी । शहर गईसकेका दाईहरु गाउँ फर्किएपछि पिङ हाल्ने चटारो हुन्थियो, बाँस काट्ने देखि खर खोजेर डोरी बाट्ने कामको लागि २ दिन छुटएको हुन्थियो । हाम्रो कामभने घरघरमा गएर खर खोजेर ल्याउँनु पर्ने थियो । पाँच बर्षमा विदेशबाट दशै मनाउँन घर फर्किनु भएको राम दाईले ठूलो — ठूलो आवजमा भन्नु भयो ‘जसले धेरै खर ल्याउँछ उसैले बढी पिङ खेल्न पाउँछ ।’ यत्ति सुन्ने बित्तिकै घर घरमा खर माग्न दौडधुप सुरु हुन्थियो, एकै घरमा ३ पटक सम्म खर माग्न जादाँ गालि समेत पाईन्थो ।

हरेक बर्ष दशै घुम्दै आउँने गर्छ नेपालीहरुको घर आगनमा तर बाल्यकालको दशैको सम्झना भन्दा मिठो पल कुनै समयको हुन सकेको छैन् मेरो लागि । निकै रमाइला अनि अविष्मरणीय पलहरु जोडिएका छन् बाल्यकालको दशैमा । अहिले हरेक दिन मासु खाएपनि, डिजाईनको लुगालगाएपनि दशैको दिन आँगनको डिलमा खसिको कान पोलेर खाएको, माइला दाईले चिक्टिक पारेर सिलाएको साडीको जामा लगाएको जस्तो रमाईलो र आन्नद दिने पल अरु कुनै हुन सक्दैन् । अनि साथिहरुसगँ पिङ्मा पहिला कस्ले खेल्ने भनेर झगडा गर्देै रिसाएको । बाल्यकालमा न कुनै चिन्ता हुन्थियो न त कुनै समस्या बस् रमाईलो र केवल खुशिहरु मात्र । मनपर्ने र भनेको कुरा कहिले लगाउँन नपाइने, बल्लतत्ल ‘बा’ ले रिन खोजेर ल्याएकोले टारेको त्यो दशै साच्चै अविष्मरणीय र रमाईलो थियो ।

बर्षौ भयो दशैमा रमाईलो गर्न नपाएको, पारिवारिक जिम्मेवारी उठाउनको लागि परिवार सँगै टाढा रहेको, आमाको हातले बनाएकोे खाना खान नपाएको । दुइ चार बर्ष अगाडी अगाडिका दशैंमा धेरै साथिहरु सँगै थिए । निकै रमाईलो हुन्थ्यो । दशैंमा गाउँमा भएको लठ्ठे पिङमा मच्चिनुको मज्जा अरुबेला कहाँ हुन्छ र ? पिङमा नै झुण्डिरहन मन लाग्थ्यो । साथीभाईहरुसँग बसेर रमाईलो गर्दाको मज्जा बेग्लै हुन्थ्यो । दशैंमा बाबा र आमाले शक्तिस्वरूपा देवीको पूजा गर्नुहुन्थ्यो साथिहरु सँग पिङ हाल्नको लागि खर माग्न गाउँ नहिडेको पनि धेरै भईसकेको छ । मलाई फेरीपनि त्यहि बाल्यकालको दशै मनाउनु छ । आमा सँग राम्रो लुगाको लागि झगडा गर्नुछ, बा सँग हतियार बनाउनको लागि आरनमा जानु छ यो तिन दिनदेखि फ्रिजमा राखेको मासुहैन आगनको डिलमा बसेर खसीको कान पोलेर खाने मन छ । यसैले मलाई फेरीपनि बाल्यकालको दशै मनाउनु छ।

प्रतिक्रिया दिनुहोस्