उपत्यकाका आकाशमा खासै देखिदैनन् रंगीविरंगी चङ्गा, लोप हुँदै कि रुची कम ?



काठमाडौं– दशैं भन्ने बित्तिकै तपाईलाई के–के को सम्झना आउँछ ?

पिङ, अक्षता, जमरा, दक्षिणा, मीठा परिकार, आफन्तसँगको भेटघाट, नयाँ लुगा, नै त हो नि ?

केही सम्झिन छुटाए जस्तो लागेन ?दशैंको आभाष दिलाउने त्तत्व चङ्गा पनि हो । चङ्गा उडाउनु खेल मात्र होइन, रीति पनि हो । र पुर्खौंदेखि चलिआएको संस्कृति पनि । यो रीति कहिले र कहाँ जन्मियो भनेर मिति र स्थान किटान गर्न सकिदैन् तर संस्कृतिविद्हरुको छुट्टै अभिव्यक्ति छ ।

चङ्गाको आविष्कार गौतम बुद्ध जन्मनुभन्दा ४/५ सय वर्ष पहिले नै चीनको हान वंशमा भएको पाइन्छ । किंवदन्ती अनुसार चौथो शताब्दीमा एैंरदाइनका इरपुल नामक ग्रीक वैज्ञानिकले सर्वप्रथम चङ्गाको आविष्कार गरेका थिए । तर चौथो शताब्दीभन्दा अघि नै एसियाका निवासीहरूमा चङ्गा उडाउने खेल पर्याप्त लोकप्रिय भएको मानिएको छ । चीनलाई चङ्गाको आविष्कारक मानिन्छ । चु राज्य र सोङ राज्यबीच चलेको युद्ध (सन् ४४४) मा लुवानले जासुसी गर्नका लागि चङ्गाको निर्माण गरे ।

सन् १७५२ मा बेन्जामिन फ्यांकलीनले सबैभन्दा पहिले बादलमा पनि बिजुली हुन्छ भन्ने कुरा पत्ता लगाएका थिए । सन् १८७४ मा स्कटल्याण्डका दुई वैज्ञानिक थोमस मेलविन र अलेक्जेन्डर विल्सनले चङ्गामा तापमापक यन्त्र (थर्मोमिटर) बााधेर वायुमण्डलको तापक्रम लिएका थिए । सन् १८९३ मा अमेरिकाका वैज्ञानिक लरेन्स हाग्रेभले बनाएको बाकस आकारको चङ्गाले १२ वर्षसम्म अमेरिकाको मौसम विभागको लागि वायुको तापमान र हावाको दबाब नाप्ने काम ग¥यो ।

बेलायतका ओलिभर तथा विलभर राइट नामका दुई भाइले सन् १९०३ मा हवाईजहाजलाई आकाशमा उडाउने अनुसन्धानका क्रममा चङ्गाको यथेष्ट प्रयोग गरेका थिए । अर्का वैज्ञानिक सर जर्ज केलेले सन् १९०४ मा चङ्गाकै आधारमा ग्लाइडरको आविष्कार गरे । सन् १९२५ मा जर्ज पोककले आफ्नी छोरीलाई लिएर उड्न सक्ने चङ्गा बनाएका थिए ।

विश्वभरिमा धार्मिक, सामाजिक तथा वैज्ञानिक कारणहरुबाट चङ्गा उडाउने चलन कायमै छ । चङ्गा उडाउनुलाई शुभ–सगुनका रुपमा पनि लिइन्छ युद्धको समय, माछा मार्नको लागि तथा अन्य रीतिरिवाज एवं प्रथाहरुमा यसको उपयोग हुन्छ ।

नेपालमा चङ्गा उडाउनुलाई धार्मिक कार्य मानिन्छ । लोककथा र किंवदन्तीअनुसार, वर्षायामभरि धेरै पानी परिसकेको हुन्छ, धान पाक्ने बेला भइसकेको हुनाले पानीका राजा इन्द्रलाई पानी चाहिंदैन भनेर चङ्गा उडाएर पठाएको सन्देश मानिन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने नेपाली जनविश्वास पनि रहिआएको छ ।

तर पछिल्ला वर्षहरूका काठमाडौंका आकासमा खासै चङ्गा देखिदैनन् । अहिले गाउँघर या शहरमा चंगा उडाउने संस्कृति धेरै कम हुँदै गएको छ । मोबाइल फोनमा सबै प्रकारणका गेम एप्स् भएका कारण पनि बालबालिकाको रुची यसतर्फ घट्दो मानिन्छ । घरबाट बाहिर निस्केर चंगा उडाउनु भन्दा उनीहरूलाई भित्रै बसेर इन्टरनेट चलाउनु र टिभी हेर्नु सहज बन्दै गएको छ । यसकारण पनि ‘चङ्गा चैट’ भन्ने आवाजहरू हाम्रो कानमा गुञ्जिँदैनन् ।

खाली जग्गाको अभाव र जताततै बनेका अग्ला भवनहरुका कारण अहिले काठमाडौंमा चङ्गा उडाउनसक्ने अवस्था नरहेको जानकारहरु बताउँछन् । चङ्गा उडाउने संस्कृती लोप हुँदै गएको भन्दा पनि खाली ठाँउ सबै भरिँदा बालबालिका र अरु उमेर समूहको रुची यस तर्फ घट्दै गएको उनीहरू बताउँछन् ।

संस्कृतिविद् मधुसुधन सुवेदीका अनुसार खाली जग्गाको अभावका कारण चङ्गा उडाउने परम्परा घट्दै गइरहेको छ ।

बाल्यकालको दशैँ सम्झदै उनी भन्छन्– बारीबाट चङ्गा उडाउँदै हिड्थ्यौं । उ बेलामा पैसा पनि कहाँ हुन्थ्यो र ? सिसा पनि आफै कुटेर् माला हामी बनाउथ्यौं । चङ्गा जुधाउथ्यौं । ओहो कति रमाइलो हुन्थ्यो । हाम्रो बुबाआमाले गाली गर्नुहुन्थ्यो । यो घाममा हिड्यो भनेर कति गाली खाइन्थ्यो । त्यो पनि अर्कै आन्नद थियो ।’

अहिले उनी कतै पनि चङ्गा उडाउनका लागि ठाँउ देख्दैनन् । उनी भन्छन्– ‘यही ठाउँमा (सानेपा) मैले देखेको ४०/५० वटा घर पनि थिएन । म जन्मेको यहि नै हो । हुर्केको पनि यहाँ नै हो । अहिले म भर्खर ८० वर्षको मात्रै भए । तर त्यो बेलामा घर नै थिएन । अब अहिले के छ भन्दा जग्गा छैन् । पहिला घर थिएन अब अहिले जग्गा छैन ।’

नेपालमा मात्रै होइन । विश्वका अन्य देशहरूमा पनि चङ्गा उडाइन्छ । विभिन्न देशमा चङ्गा उडाइनुको आफ्नै धार्मिक विश्वास छ । नेपालमा किंवदन्ती अनुसार स्वर्गका राजा इन्द्रसम्म ‘वर्षा चाहिँदैन’ भन्ने सन्देशपु¥याउनका लागि चङ्गाको प्रयोग गरिएको हो भन्ने किंवदन्ती छ ।वर्षायाममा धेरै पानी परिसकेकाले धान पाक्ने बेला पानी चाहिँदैनभनेर इन्द्रलाई उक्त सन्देश पठाइन्छ । चङ्गा उडाएमा पानी पर्दैन भन्ने जनविश्वास परपूर्वकालदेखि नै रहिआएको छ ।

चीनमा रोगव्याधबाट मुक्ति पाउन र दुष्टात्मा धपाउने प्रयासको रूपमा चङ्गाउडाउने गरिन्छ । जापानमा प्रत्येक नयाँ वर्षको शुभदिनमा चङ्गा उडाउने चलन छ । त्यहाँका प्रत्येक बाबुहरू छोराको नाममा चङ्गा उडाएर छोराको लामो आयुका लागि प्रार्थना गर्छन् । त्यसैले जापानीहरूका लागि चङ्गा उडाउनु वंशलाई अगाडि बढाउने प्रतीक हो ।

भारतमा माघेसंक्रान्तिको अवसरमा चङ्गा उडाउने गरिन्छ । त्यस दिनलाई ‘चङ्गा पर्व’को नामले पनि चिनिन्छ । सूर्यको स्वागत गर्न चङ्गा उडाइने भारतमा माघेसंक्रान्तिका दिन विभिन्न ठाउँमा चङ्गा चेट कार्यक्रमको आयोजना हुने गरेको छ ।

कोरियामा चङ्गाको प्रयोग दुर्भाग्य तथा दुष्टात्मा भगाउनका लागि गरिन्छ । कोरियालीहरूलेनयाँ वर्षको पूर्णिमाको राति दुर्भाग्य भगाउनतथा सौभाग्य भित्र्याउनका लागि एउटा ठूलो चङ्गामा ‘अशुभहरू जाओस्’लेखेर आकाशमा उडाउने गरेका छन् । उडिरहेको चङ्गाको धागोलाई काटेपछि त्यो चङ्गासँगै उनीहरूको दुर्भाग्य पनि काटिएर जान्छ भन्ने विश्वासका साथ यो परम्परालाई आत्मसाथ गरिन्छ । श्रीलंकामा चङ्गाले स्वर्ग र पृथ्वीको सम्पर्क कायम गर्छ र चङ्गा उडाएमा मरेपछि स्वर्ग पुगिन्छ भन्ने जनविश्वास छ ।

थाइल्याण्डमा स्वर्ग र पृथ्वीको सम्पर्क हुने र मरेपछि स्वर्ग पुगिन्छ भन्ने विश्वासका साथ थाइल्याण्डमा चङ्गा उडाइन्छ । सथै अमेरिका र पोलेन्सियामा पनि विशेष अवसरमा चङ्गा उडाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्