मुगु बस दुर्घटना : १० जनाको सनाखत



मुगु । मृगुमा भएको बस दुर्घटनामा मृत्यु हुनेक ३२ मध्ये १० जनाको सनाखत भएको छ । छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा मंगलबार बस दुर्घटना भएको हो । सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस पिनागाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जानको घटनास्थलमै र चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो ।
मुगुमा मृत्यु हुनेमा चालक ३५ वर्षीय दानबहादुर रावल, छायानाथ रारा नगरपालिका–७ का १२ वर्षीय आशिष शाही, १३ वर्षीया सुदिक्षा बम, १६ वर्षीय भग बम, वडा नम्बर १ का १८ वर्षीय मञ्जु मल्ल, वडा नम्बर ८ का २२ वर्षीय सरोज बिताली र नविन बुढा छन् । यस्तै उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु हुनेमा छायानाथ रारा–१ का चन्द्रप्रसाद भाम, वडा नम्बर ७ का १२ वर्षीय आदित्यविक्रम शाही र वडा नम्बर ८ का २८ वर्षीय टोपबहादुर विष्ट छन् ।
कोहलपुरमा उपचारका क्रममा ज्यान गुमाउने एक जनाको पहिचान भने खुलेको छैन ।
बसमा सवारमध्ये तीन जनाले गाडीबाट हाम फालेको र दुई जना दुर्घटना हुनुभन्दा केही समय अघि ओर्लिएका थिए । बसमा सवार अधिकांश काठमाडौं, नेपालगञ्ज, सुर्खेतलगायतका स्थानबाट दशैँ मनाउन घर फर्किएका विद्यार्थी रहेको बुझिएको छ । स्थानीयका अनुसार मोडमा बसको अगाडिको टायर पञ्चर भएर पड्किएको थियो । टायर पड्किएपछि बस पछाडि भीरमा खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्