काँग्रेसको एकलौटी सरकार नै जनताको चाहना : उपसभापति निधि



जनकपुरधाम । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले जनताले नेपाली काँग्रेसको एकलौटी सरकार खोजिरहेको बताएका छन् । अहिलेको जस्तो बैशाखीमा टेकेको सरकार नभई नेपाली काँग्रेसको बहुमतको एकलौटी सरकार जनताले खोजेको उनले भने ।
उपसभापति निधिले मंगलबार धनुषाको निर्वाचन क्षेत्र नम्बर ४ को सखुवा महेन्द्रनगरमा आयोजित विजयादशमी, दीपावली तथा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भने, ‘देशलाई काँग्रेस चाहिएको छ, काँग्रेसको सरकार चाहिएको छ, गठबन्धनको सरकार होइन । जबसम्म एकलौटी सरकार बन्दैन तबसम्म देश अपेक्षाअनुसार गति लिन सक्दैन ।’ यदि देशलाई काँग्रेस चाहिन्छ भने मधेसको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ ।
उनले गत निर्वाचनमा नेपाली काँग्रेसबाहेका पार्टीलाई जिताउँदा त्यसको दुष्परिणाम देश र नेपाली जनताले भोगिरहेका बताउँदै राज्य र सरकारका अंगहरू न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका अस्तव्यस्त र क्षतिग्रस्त भएको औंल्याए ।
पछिल्लो निर्वाचनबाट देशमा अर्कै पार्टीको सरकार बन्दा जनताको दैनिक जीवन दुष्कर बनेको स्पष्ट पार्दै महँगी बढेको र समग्रमा देशकै आर्थिक स्थिति बिग्रिएको बताए । उनले भने, ‘अहिलेका युवा पुस्ता निराशामा छन् । राज्यका अंग, राजनीति र रोजगारका क्षेत्रमा अवसर पाउन सकेका छैनन् ।’
उपसभापति निधिले पार्टीको आसन्न महाधिवेशनमा आफूलाई सभापति उम्मेदवारका रूपमा प्रस्तुत गरेको भन्दै महाधिवेशनमा समर्थन र सहयोग गर्न कार्यकर्तालाई आग्रह गरे ।
उनले नयाँ पुस्ताका युवा नेताको जाम लागसकेकाले आउँदो १५ औँ महाधिवेशनबाट युवापुस्ताले काँग्रेसको नेतृत्वगर्ने विश्वास दिलाए । उनले पाँच वर्षपछि आउने महाधिवेशनमा विश्वप्रकाश शर्मा र गगन थापालगायत युवापुस्ताको दावेदारी रहने बताए ।
उपसभापति निधिले कार्यकर्ताहरूका बीच मतभेद भए पनि मनभेदको स्थिति नल्याउन आग्रह गर्दै वडादेखि प्रदेश तहको सबै अधिवेशन सहमतिमा गरेर अगाडि बढ्न भेलामा उपस्थित नेता कार्यकर्तालाई आग्रह समेत गरे ।

प्रतिक्रिया दिनुहोस्