सदन सुचारु गर्न सभामुखले आफ्नो गल्ति स्वीकार गर्नुपर्छ : एमाले नेता प्रदिप ज्ञवाली



चितवन । संघीय संसदको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले संसद छाडेर जान एमालेलाई प्रचण्डले बक्सिस नदिएको बताएका छन् । केही दिन अघि गृहजिल्ला आएका नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगातार रूपमा संसद अवरुद्ध गर्दै आएको एमालेलाई संसद छाडेर जान आग्रह गरेका थिए ।
दशैँको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी हुन मंगलबार चितवन आएका ज्ञवालीले संसद छाडेर जान एमाले सांसदलाई प्रचण्डले बक्सिस नदिएको बताए । भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै ज्ञवालीले भने–‘एमालेलाई संसदमा पु¥याउने काम जनताले गरेका हुन् । जनताको इच्छा बेगर कसैले पनि हटाउने वा दायाँबायाँ गर्ने कुरै भएन ।’
एमालेलाई संसद छाडेर जान भन्नु प्रचण्डको पराजित मानसिकताको उपज मात्रै भएको उनले बताए । ३२ साउनसम्म एमालेले संसद अवरुद्ध नगरेको बताउँदै उनले सभामुखले पदीय दायित्व पूरा नगरेपछि मात्रै संसद अवरुद्ध हुन थालेको बताए । ‘सदन खोल्ने हो भने सभामुखले आफ्नो गल्तिलाई सार्वजनिक रूपमा स्वीकार गर्नुपर्छ’, उनले भने ।
वर्तमान गठबन्धनको सरकार देशका लागि बोझ बनेको बताएका छन् । सरकार प्रारम्भदेखि नै गलत बाटोमा हिँडिरहेको उनले बताए । ‘सरकार गलत बाटोमा हिँडिरहेको छ । त्यसो हुनाले जति दिनसम्म रहन्छ, त्यति दिनसम्म देशका लागि बोझ हुने स्थिति हामी देख्छौँ’, उनले भने ।
देउवा सरकार संविधानको अपव्याख्या अनुसार बनेको भन्दै उनले जनादेशबाट नभएर परमादेशबाट बनेको सरकार गलत बाटोमा हिँडेको उनले आरोप लगाए । ‘सरकारले प्रारम्भदेखि नै संविधानका आधारभुत संरचना भत्काउने, राष्ट्रिय हितलाई आँच पु¥याउने र जनताको विरोधमा काम गरेको देखिएको छ’, उनले भने ।
सरकारले भूमि सम्बन्धि समस्या समाधामन आयोग विघटन गरेर सुकुम्बासीका सपनालाई नै विघटन गरेको उनले बताए । ‘अर्थमन्त्रीले कालो धनलाई सेतो बनाउने गरी पैसाको स्रोत नखोजिने भन्नुभयो । जसले गर्दा नेपाल कालो सूचीमा पर्ने खतरा छ’, उनले भने, ‘पार्टी विशेषलाई विभाजन गर्न लोकतन्त्रका विधिका शासनको आधारभुत कुरालाई पनि सरकारले भत्काउने काम ग¥यो ।’
रुपन्देहीमा सुकुमबासीमाथि गोली चलाइएको प्रसंगमा बोल्दै उनले समस्याको समाधान गोली नहुने बताए । सुकुमबासीका नाममा हुकुमबासीले जग्गा कब्जा गर्न नपाइने तर सरकारले जनतामाथि गोली चलाएर गलत बाटोमा हिँडेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्