पहिरो नहटाउँदा दशैंका बेला सर्वसाधारणलाई आवतजावतमा समस्या



दमौली । तनहुँको देवघाट गाउँपालिकास्थित शालिग्राम कोरिडोरमा गएको पहिरोका कारण यातायात सञ्चालनमा समस्या भएको छ ।
लामो समयसम्म सडकको पहिरो नहटाउँदा सर्वसाधारणलाई दशैंको मुखमा आवतजावतमा समस्या भएको हो ।
वर्षाका कारण गत असारमै गएको पहिरोसमेत अझै हटाइएको छैन । पहिरोले सडक अवरुद्ध हुँदा दशैंमा घर जाने सर्वसाधारणलाई समस्या भएको हो ।
शालिग्राम कोरिडोरअन्तर्गत कोटा भतेरीदेखि बञ्चरेपहरा खण्डको अधिकांश स्थानमा पहिराले बाटो भत्किएको छ ।
गाउँपालिकाले दशैंमा बाटो खुलाउने प्रयास नगर्दा सर्वसाधारण हिँडेरै घर जानुपर्ने बाध्यता रहेको स्थानीयवासी राम वंशी ठकुरीले बताए ।
पहिराले बाटो अवरुद्ध हुँदा देवघाट गाउँपालिका–२ र देवघाट गाउँपालिका–३ का जनता प्रत्यक्ष प्रभावित भएका छन् । ‘सडकको ठाउँ–ठाउँमा पहिरा गएको छ, पहिरा हटाउन गाउँपालिकाले चासो देखाएन’, उनले भने, ‘त्यसको मार अहिले दशैंमा जनताले बेहोरिरहेका छन् ।’
गाउँपालिकाले यो सडकलाई गत भदौ अन्तिमभित्रै सञ्चालनमा ल्याउने प्रतिबद्धता जनाए पनि काम भएको छैन ।
‘जनप्रतिनिधि संवेदनशील नभइदिँदा त्यसको प्रत्यक्ष पीडा नेपालीको महान् पर्व दशैंमा भएको छ । दक्षिणभेगका जनता दशैं मान्न घर आउँदा घण्टौँ हिँड्नुपरेको छ,’ उनले भने ।
चितवन, नवलपुरलगायतका ठाउँबाट पुख्र्यौली घर फर्किएका स्थानीयवासी जोखिम मोलेर अहिले गन्तव्यतर्फ गइरहेका छन् ।
गण्डकी प्रदेश सरकारमार्फत उक्त सडकखण्डका लागि ५० लाख बजेट विनियोजन भएको छ । तर, काम अझै सुरु नहुँदा नागरिकले सास्ती पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्