राष्ट्र बैंकबाट ५० अर्ब बराबरको नयाँ नोट साटियो



काठमाडौं । यस वर्षको दशैंमा करिब ५० अर्ब रुपैयाँ बराबरको नयाँ नोट नेपाल राष्ट्र बैंकबाट बाहिरिएको छ ।
विभिन्न बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले गरी उक्त परिमाणमा नयाँ नोट सटही सुविधा लिएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभाग प्रमुख रेवतीप्रसाद नेपालले जानकारी दिए ।
‘सर्वसाधारणले ५ देखि सय रुपैयाँसम्मका गरी करिब १३ अर्ब रुपैयाँ र बैंक तथा वित्तीय संस्थाले ५ सय र हजार दरका गरी करिब ३७ अर्ब रुपैयाँका नोट साटेका छन्,’ उनले भने ।
यो वर्ष राष्ट्र बैंकले सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँका दरले नयाँ नोट वितरण गरेको थियो । यो ५ देखि सय रुपैयाँसम्मको एक÷एक वटा बन्डल हो ।
बैंक तथा वित्तीय संस्थालाई भने २ करोडदेखि ५ करोड रुपैयाँसम्मको सटही सुविधा दिएको थियो ।
सम्बद्ध बैंकमा ढुकुटीको क्षमता, ग्राहकको मागलगायत आधारमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थालाई उल्लिखित रकम प्रदान गरिँदै आएको राष्ट्र बैंकले जनाएको छ ।
गत सोमबारदेखि नयाँ नोट सटही सुविधासेवा बन्द भएको छ ।
तिहार र छठ पर्वका लागि भने दशैं बिदापछि आवश्यकताअनुसार नयाँ नोट बाँडिने राष्ट्र बैंकले जनाएको छ ।
दशैंमा धेरै नयाँ नोट बाहिरिएपछि चलनचल्तीमा रहेको मुद्रा पनि बढेर ७ खर्ब २५ अर्ब रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्