घुम्ने योजना बन्दैछ ? यी ठाउँ नछुटाएकै राम्रो !



हिन्दु नेपालीहरुको महान चाड बडा दशैँ शुरु भएको छ । कोरोनाका कारण अघिल्लो वर्षको दशैँमा त्यत्ति चहलपहल भएन । हामी कतिले त क्वारेन्टाइनामा मनायौं । यो वर्ष पनि कोरोनाको संक्रमण कम भएको छैन । सुरक्षित भएर दशैँ मनाउनु पर्ने जिम्मेवारी पनि यस पटक हामीसँग छ ।

दशैँको चहलपहलले माहोल पनि रमाइलो बन्दै छ । घुमफिर गर्नका लागि यतिबेलाको मौसम निकै उपयुक्त मानिन्छ । दशैंमा धेरैले घुम्न जाने योजना त बनाउँछौं । तर, घुम्ने ठाउँको बारेमा जानकारी नहुँदा हामी अलमलिइरहेका हुन्छौं । घुम्न जाने नेपालमा पर्याप्त ठाउँहरू छन् ।
दशैंमा तपाई आफ्नो परिवारसँग घुम्न जाने योजना बनाउँदै हुनुहुन्छ भने यो ठाउँ पनि राख्नुहोस् ।

रानीमहल
पाल्पाको ऐतिहासिक दरबार ‘रानीमहल’लाई नेपालको ‘ताजमहल’ पनि भनिन्छ । पाल्पा जिल्लाको तानसेनदेखि करिब १३ किलोमिटर उत्तर कालीगण्डकी नदीको किनारमा अवस्थित यो दरबार प्रेमको प्रतीक पनि मानिन्छ । तत्कालीन राणा पश्चिम कमाण्डर जनरल खड्ग शमशेरले विसं. १९५४ मा रानीमहल निर्माण गरेका थिए । पत्नी तेजकुमारी देवीको मृत्युपछि उनकै सम्झनामा खड्ग शमशेरले रानीमहल निर्माण गराएका थिए ।
यो महल युयानीशैलीमा बेलायती इन्जिनियरको डिजाइनमा बनाइएको हो। यस महलको पूर्व तिर खड्ग शमशेरको पूजा गर्ने कोठा, माथिल्लो तलामा बैठक कोठा र मध्य तलामा खड्ग शमशेरका कोठाहरू रहेका छन्। त्यस्तै वरिपरि रहेको बगैंचा र रानी पोखरीले महल आकर्षक देखाएको छ। दरबारको मूलढोकाबाट कुँदिएको ढुङ्गा र इँट्टाबाट बनाइएका खुड्किलो तल सिधा कालीगण्डकी नदी कुण्डमा जोडिएको छ । प्रसिद्ध मुक्तिनाथ तिर्थ जाने मुख्यद्वार भएकाले तिर्थालुहरूलाई बस्ने सुविधा सहितका पौवा समेत निर्माण गरिएको थियो ।

दैलेख
कर्णाली प्रदेशको दैलेखमा पञ्चकोशी क्षेत्र, कृति खम्ब, दुल्लु दरबार, पाथरनाउली, सात खम्ब, कोतगढी, पञ्चदेवल, वेलासपुर लगायतका महत्वपूर्ण सम्पदास्थल छन् । कोटिला, नाभिस्थान, श्रीस्थान, पादुका र धुलेश्वरलाई पञ्चकोशी क्षेत्र भनिन्छ ।
कर्णाली राजमार्गले दैलेख, जुम्ला र मुगुलाई सडक सञ्जालबाट जोडेको छ । सुर्खेतबाट कर्णाली राजमार्ग हुँदै दैलेख जाँदा सदरमुकाम दैलेख बजार नपुग्दै २५ किलोमिटर वर दुल्लु क्षेत्रमा रहेको पञ्चकोशी तीर्थस्थलको श्रीस्थान र नाभिस्थानमा नित्य प्रज्वलित ज्वाला हेर्न सकिन्छ । पृथ्वी मल्लको कीर्तिस्तम्भ, दामुपालको स्तम्भ, सउना कार्कीको कीर्तिस्तम्भ, दुल्लु गढीको स्तम्भ र दैलेख बजारका चारखम्ब जस्ता स्तम्भ अध्येताका लागि विशेष रुचिका विषय हुन् । खस राज्यको ग्रीष्मकालीन राजधानी जुम्लाको सिंजा तथा हिउँदे राजधानी दुल्लु थियो । दुल्लु दरबार अहिले पनि यथावत छ ।

राराताल
राराताल नेपालको कर्णाली अञ्चलको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम तर्फ करीब ३ घण्टाको पैदल यात्रा गरेपछि राराताल पुगिन्छ । १०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको रारा तालको अधिकतम लम्वाई ५ किलोमिटर र अधिकतम चौडाई ३.२ किलोमिटर छ भने गहिराई १६७ मिटर छ । दिनभरीमा आफ्नो रुप फेरिरहने राराताल जेष्ठ देखि आश्विन महिना सम्म विभिन्न फुलहरूले सजिएर स्वर्गकी अप्सरा जस्तै देखिन्छ। रारातालको अर्को एक थप विशेषता के छ भने यस तालमा विश्वमा अन्यत्र कहि पनि नपाइने असला (हिमाली) माछा पाइन्छ । राजा महेन्द्र शाहले २०२० सालमा यस क्षेत्रको भ्रमण गरेपछि पहिलेका दिनहरूमा रारा दह भनेर चिनिंदै आएको यस तालको नाम महेन्द्र ताल राखेका थिए ।
प्रकृतिको उपहारको रूपमा श्रृजित राराताललाई रारा राष्ट्रिय निकुञ्जको मनोरम हरियाली यसमा पाइने कस्तुरी, रतुवा जस्ता जन्तुहरूका साथै नेपालको राष्ट्रिय चरा डाँफे र अन्य चरा चुरुङ्गीहरूले समेत थप शोभा पुर्याएका छन् । यसको वरिपरि विस्तारित राष्ट्रिय निकुञ्ज १०६ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ ।

पाथीभरा
विश्वको तेस्रो अग्लो हिमाल लगायत दर्जनौं अन्य हिमाल हेर्नका उपयुक्त स्थल हो पाथीभरा । समुद्री सतहबाट ३ हजार ७ सय ९४ मिटरमा उचाईमा रहेको ताप्लेजुङ्गमा अवस्थित पाथीभरादेवी स्वदेश र विदेशमा प्रख्यात रहेकी छिन् ।
भारतीयहरु ठूलो संख्यामा यहाँ आउँछन् । पूर्वको पर्यटक तथा धार्मिकस्थलमध्ये अग्रपङ्तीमा आउने पाथीभरा मन्दिर परिसरमा कुनै होटल नभए पनी भक्तजनहरुलाई बस्ने र खाने राम्रै व्यवस्था छ ।

पोखरा
कास्की जिल्लामा पर्ने पर्यटकीय नगरी पोखरा घुमफिरका लागि आकर्षक गन्तव्य हो । यहाँ आन्तरिक र बाह्य पर्यटकको भीड लाग्ने गर्छ ।
पोखरामा फेवाताल, तालबाराही मन्दिर, महेन्द्र गुफा, डेभिड फल्स, बेगनास ताल, बिन्ध्याबासिनी मन्दिर, गुप्तेश्वर गुफा, चमेरु गुफा, बेगनाश ताल, साराङकोट, विभिन्न ताल लगायतका मनमोहक ठाउँहरु रहेका छन् । यहाँको खास विशेषता भनेको डुङ्गामा शेयर गर्दै सुन्दर प्राकृतिक दृश्यावलोकन गर्न पाउनु हो ।
पछिल्लो समय पोखरामा सराङकोटबाट प्याराग्लाइडिङ र जिप फ्लायर गर्नेको भिड बढेको छ । एउटै गन्तव्यमा धेरै नयाँ र आकर्षक स्थानको अवलोकन गर्न पाउने गन्तव्य हो, पोखरा ।

लुम्बिनी
गौतम बुद्धको जन्मस्थान लुम्बिनी अर्को आकर्षक गन्तव्य हो । लामो यात्राको रुची राख्नेहरुको लागि लुम्विनी उत्तम हुनसक्छ । शान्तिको लागि छट्पटिएकाहरुले त्यहाँ पुग्छन् ।
लुम्विनी प्रमुख आकर्षण भनेको मायादेवी मन्दिर हो । अत्यन्तै सुन्दर रहेको लुम्बिनीमा विभिन्न देशका कलात्मक गुम्बाहरु रहेका पनि रहेका छन् । त्यहाँका सबै गुम्बाहरु अत्यन्तै सुन्दर भएकाले गुम्बा बनाउन विभिन्न देशहरुबीच प्रतिस्पर्धा भएको आभाष मिल्छ । काठमाडौंबाट भैरहवा विमानस्थल हुँदै लुम्बिनी पुग्न सकिन्छ ।

सौराहा
वाईल्ड लाइफ तथा थारू संस्कृति हेर्न रुचि राख्नका लागि चितवनको सौराहा निकै उपयुक्त गन्तव्य हुन्छ । सौराह चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएकाले पनि घुम्नका लागि चर्चित रहेको छ । यहाँको प्रमुख आकर्षण भनेको हात्तीमा जंगल सफारी गर्नु हो । हात्ती तथा जिप सफारी गर्दै बाघ, गैंडा, घडीयाल अवलोकन गर्न पाइन्छ । राप्ती नदीमा बोटिङ गर्दा गोही, गैंडालगायतका जनावर पनि देखिन्छ ।
सौराहामा जंगल सफारी, हात्ती सफारी, चरा वाचिङ तथा थारू संस्कृतिका लागि प्रख्यात रहेको छ ।

बन्दीपुर
डुम्रेबाट ८ किलोमिटरको दूरीमा रहेको बन्दीपुर दशैंको बिदामा घुम्नको लागि अर्काे राम्रो ठााउ हो । पुराना घरहरूलाई कलात्मक रूपमा सिंगारिएको बन्दीपुर तनहुँको पुरानो बजार हो । नेवारी बस्ती र सुन्दर दृश्याले सबैलाई आकर्षीत गर्ने गरेको छ । यहाँबाट तनहुँको सुन्दर फाँटहरू, हिमाललगायतका दृश्यहरू हेर्न पाइन्छ ।

घलेगाउँ
पछिल्लो समय लमजुङको घलेगाउँ पर्यटनका लागि प्रसिद्ध बन्दै आएको छ । चिटिक्क परेको सुन्दर बस्ती, पुराना र मौलिक पाराका घर अनि आँखैअगाडि देखिने सेता हिमशृंखलाहरू, बाहृै महिना चिसो मौसम अनि पत्रे ढुङ्गाबाट बनेका छिर्ने साँघुरा बाटाहरू, बस्तीभरि नै मंगोलियन अनुहार, पुख्र्यौली लवज अनि आफ्नै मातृभाषामा सामान्य कुराकानीले सबैलाई आकर्षण गरेको छ ।

मुस्ताङ
हिमाल पारिको जिल्लाका रुपमा परिचित मुस्ताङ धार्मिक तथा प्राकृतिक रुपमा रमणिय ठाउँ हो ।
अन्नपूर्ण र धौलागिरी हिमालको छायाँमा रहेको यस जिल्ला चट्टानहरुले बनेको मरुभुमीजस्तै देखिन्छ । उच्च स्थानमा रहेका ले यहाँ दिउँसोको समयमा हावाको वहाव एकदमै तेज हुने गर्दछ । बाह्रै महिना हिउँले ढाकिने हिमालहरुको काखमा रहेको मुस्ताङमा पनि हिउँ पर्ने गर्छ । विशेषतः जाडो महिनामा धेरै हिउँ पर्ने गर्दछ । हिउँमा खेल्न मनपराउनेको लागि भनेर मुस्ताङ उपयुक्त गन्तव्य हुन्छ ।
मुस्ताङलाई मध्यभाग पारेर बग्ने कालीगण्डकीको आफ्नो छुटै विशेषता रहेको छ । तयो अति मनमोहक देखिन्छ ।
मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर हिन्दु तथा बौद्ध धर्मावलम्बीहरुको महत्वपूर्ण पर्यटकीय स्थल हो ।

नगरकोट
भक्तपुरमा पर्ने नगरकोट प्राकृतिक रुपमा मनोरम स्थल हो । नगरकोटबाट सगरमाथा, धौलागिरि, कञ्जनजङ्घा, मनास्लु, लाङटाङ, गौरिशंकर, ल्होत्से, मकालुजस्ता हिमालको दृश्यावलोकन गर्न पाइन्छ । यहाँ परिवारसँग गएर समय बिताउन मज्जा हुन्छ ।
नगरकोटको डाँडोमा रहेको भ्यू टावरबाट नजिकै हिमालहरु मुस्कुराएको देख्न पाइन्छ । सुर्योदय र सुर्यास्त हेर्नका लागि पनि नगरकोट प्रख्यात रहेको छ ।

जनकपुर
धनुषा जिल्लामा रहेको रामजानकी मन्दिर नेपालको प्रमुख धार्मीक गन्तव्यका रुपमा मानिन्छ । यहाँ नेपाली तथा भारतीय पर्यटकको ठूलो उपस्थिती हुने गरेको छ ।

कालिञ्चोक
दोलखा जिल्लामा रहेको कालिञ्चोक प्राकृतिक रुपमा सुन्दर ठाउँ हो । यहाँबाट प्रकृतिको हरियालीसँगै हिमाली दृश्य राम्रोसँग देखिन्छ । धार्मिक आस्था भएकाहरु कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न जाने गर्छन् । यहाँबाट विभिन्न हिमशृंखलाहरु समेत देख्न सकिन्छ ।

जिरी
जिरी नेपालको स्वीटजरल्याण्डको नामाले प्रख्यात छ । दोलखा जिल्लाको प्रमुख र आकर्षक गन्तव्य हो, जिरी । तामाकोशी नदी, मनमोहक हरियाली र झरना तथा परम्परागत बस्तीले जिरीलाई रमणीय बनाएका छन् । जिरी सगरमाथा प्रवेशद्वारका रुपमा पनि परिचित छ । यहाँबाट सगरमाथाका लागि पदयात्रा सुरु हुन्छ ।

पुनहिल
पुनहिल नेपालको मुख्य र सबैभन्दा आकर्षक पदमार्ग घान्द्रुक–घोरेपानी–पुनहिल रहेको छ । पुनहिलमा पुगेर दर्जनौ हिमश्रृंखला हेर्न सकिने भएकोले उक्त क्षेत्रको भ्रमणमा जाँदा रमाईलो हुन्छ ।

इलाम
नेपालको पूर्वी क्षेत्रमा रहेको इलामको मुख्य आकर्षण भनेको चिया बगान हो । रमणीय स्थानमा रहेको बगानले स्वदेशी तथा विदेशी पर्यटकलाई आकर्षित गर्दै आएको छ । इलामको सकन्दपुरबाट सगरमाथा, कन्चनजंघाजस्ता हिमशृंखला हेर्न सकिन्छ ।

एभरेष्ट बेस क्याम्प
माउन्ट एभरेष्ट चढ्न नसकेपनि माउन्ट एभरेष्ट चढेको झल्को दिने गरि एभरेष्ट बेस क्याम्प सम्म भने ट्रेकिङ गर्न सकिन्छ ।

यो ट्रेकिङ गर्ने हरेकले आफै सगरमाथा चढेको अनुभव गनै गरेका छन् । । १६ दिन लामो ट्रेकमा सुन्दर लालिगुराँसको जङ्गलहरु, ढुंगाको पर्खाल लगाइएको सुन्दर शेर्पा गाँउहरुमा पुग्न सकिन्छ । शेर्पाहरुको यो भूमिबाट नाम्चे, पोत्र्से गाँउ लगाएतका सुन्दर गाँउ हुँदै अगाडी बढ्दा जादुमयी एभरेष्ट र नुप्त्से हिमालहरुको दृश्यावलोकन गर्न सकिन्छ ।

अन्नपूर्ण पदमार्ग
पदयात्राका लागि विश्वकै उत्कृष्ट गन्तव्यस्थल हो अन्नपूर्ण पदमार्ग । लमजुङ सदरमुकाम बेसीशहरलाई अन्नपूर्ण पदयात्रा मार्गको प्रवेशद्वारको रुपमा चिनिने गरिन्छ । बेसीसहरबाट खुदी, भुलभुले, ङादी, स्याँगे, जगत हुँदै मनाङ जिल्लाको बगरछाप, चामे, थोराङ पास हुँदै मुस्ताङ पुग्न सकिन्छ ।
अन्नपूर्ण पदमार्गको यात्रा मनाङ हुँदै थोराङपास गरेर मुक्तिनाथ, जोमसोम, बेनी अथवा घोरेपानीबाट पोखरा पुगेर टुङ्गिन्छ । पदयात्राका सौखिनका लागि यो उपयुक्त गन्तव्यस्थल हो ।

कोशी टप्पु
कोशी टप्पु वन्यजन्तु आरक्ष चरा अवलोकन गर्नेहरुका लागि उपयुक्त गन्तव्यस्थान हो । कोशीटप्पु सुनसरी, सप्तरी र उदयपुर जिल्लामा फैलिएको छ ।
कोशी टप्पुलाई अर्नाको राजधानी र चराहरूको स्वर्गका रुपमा चिनिने गरिएको छ । तमोर, अरुण, दूधकोशी, तामाकोशी, सुनकोशी, लिखु र इन्द्रावती मिसिएको सप्तकोशी यहाँको अर्को आकर्षण हो ।

तीनधारे झरना
तीनधारे झरना, काभ्रेको रोशी गाउँपालिका–३ काफलडाँडामा पर्छ । यो झरना काभ्रे आसपासका व्यक्तिहरुका लागि नयाँ गन्तव्यस्थल बनेको छ । काठमाडौंबाट बिहानै यात्रा तय गर्ने हो भने झरनामा पुगेर साँझ फर्किन सकिन्छ । काठमाडौंदेखि ६० र धुलिखेलदेखि झरनासम्मको दुरी ३० किलोमिटर छ । तर, झरनासम्मै पुग्ने मोटर बाटो भने छैन । केही दुरी पैदल हिँडेपछि मात्रै झरनासम्म पुग्न सकिन्छ ।

शक्तिपीठ
दशैंको घुमघामलाई दशैंकै माहौलसँग जोड्ने हो भने शक्तिपीठ पुग्न नबिर्सऔं । नवरात्रिभर हरेक शक्तिपीठमा धुमधामसँग मेला लाग्छ । सपरिवार सकेसम्म धेरै शक्तिपीठमा पुगेर पूजाआजा गर्न सकियो भने त्योभन्दा अर्थपूर्ण दशैं के होला ?
गोरखाको मनकामना, नवलपरासीको मौलाकालिका, डोटीको शैलेश्वरी, डडेलधुराको त्रिपुरासुन्दरी, सल्यानको सल्यानकोटदेवी, बागलुङ कालिका, काभ्रेको पलान्चोक भगवती, दक्षिणकालीजस्ता शक्तिपिठको यात्रामा निस्कन सकिन्छ ।
हरेक जिल्लामा नवरात्रिभर विशेष पूजा हुने भगवतीका मठ–मन्दिर रहेका छन् । दशैंमा घर नजिकैको भगवती मन्दिर घुमघाम गरेर पनि दशैं बिदालाई उपयोग गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्