१३ औं महाअधिवेशनपछि कांग्रेस असाध्यै कमजोर भयो : नेता सिंह



विराटनगर । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाअधिवेशनपछि पनि कांग्रेसमा वर्तमान नेतृत्व कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै सिंहले अहिलेको नेतृत्व आगामी महाअधिवेशनपछि पनि कायम रहे कांग्रेस प्रजापरिषद्मा परिणत हुने बताएका हुन् ।
नेता सिंहले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीले कांग्रेस पार्टी र पार्टीको संगठन असाध्यै कमजोर भएको आरोप लगाएका छन् । ‘नेतृत्वको कार्यशैलीका कारण १३ औं महाअधिवेशनपछि कांग्रेस असाध्यै कमजोर भएको छ’, उनले भने,‘आगामी महाअधिवशनपछि पनि कार्यकर्ता र जनताले चाहे अनुसारको नेतृत्व छान्न नसकी यहि नेतृत्व कायम राखे कांग्रेस प्रजापरिषद्मा परिणत नहोला भन्न सकिंदैन ।’
नेता सिंहले सभापतिले पार्टीमा बहुमत छ भन्दै विधिविधान मिच्ने काम गरेका कारण कांग्रेस कमजोर भएको बताए । कांग्रेस कमजोर भएका कारण कम्युनिष्टहरूले संविधानलाई नै कमजोर पार्ने प्रयास गरेको सिंहको आरोप छ । सिंहले संविधानको संरक्षण गर्न, संस्थागत गर्न र कार्यान्वयन गर्न नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण हुने भएकाले पहिले कांग्रेस पार्टीलाई नै ठीक ठाउँमा ल्याउनु आवश्यक रहेको बताए ।
लोकतन्त्र र पार्टी संगठन विस्तारमा गरेको योगदानका आधारमा अबको नेतृत्व परिवर्तन गर्नुपर्ने उनको भनाई छ । सिंहले अहिलेको नेतृत्वलाई विस्थापित गर्न संस्थापन इतका नेताहरूले साझा उम्मेदवार बनाएर महाअधिवेशनमा जाने तयारी भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्