साफ च्याम्पियनसिपको फाइनलपछि अल्मुताइरीले राजीनामा दिने



काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी साफ च्याम्पियनसिपको फाइनलपछि नेपालमा नरहने बताएका छन् । नेपालले बंगलादेशलाई १–१ को बराबरीमा रोकेर फाइनल प्रवेशपछि बुधबार आयोजित पोस्ट म्याच कन्फ्रेन्समा बोल्दै अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र जारी साफको फाइनल खेलपछि आफू नेपालमा नरहने बताएका हुन् ।
अल्मुताइरीले आफूले एक महिनाअघि राजीनामा दिइसकेको र साफ च्याम्पियनसिपपछि त्यो लागु हुने बताए ।
उनले साफ च्याम्पियनसिपमा नेपाल भारतसँग पराजित भएपछि समर्थक र मिडियाले उनीमाथि गरेका टिकाटिप्पणीप्रति पनि असन्तुष्टि जनाए ।
उनले भने, ‘मैले यसअघि नै राजीनामा दिइसकेको छु । फाइनल नेपालका लागि मेरो अन्तिम खेल हुनेछ । फाइनलपछि म नेपाल फर्कने पनि छैन ।’ प्रशिक्षक अल्मुताइरीले पछिल्लो तीन दिन आफूले केही नखाएको र सुत्न समेत नसकेको बताए । उनले भने, ‘यी तीन दिन मैले धेरै तनावमा गुजारे ।’ तर उनले जितमा आफू खुसी रहेको पनि बताए ।
खेलको विश्लेषण गर्नेक्रममा उनले भने, ‘बंगलादेशी गोलरक्षकले रातो कार्ड खाएपछि टिम १० खेलाडीमा सीमित भयो र खेल हाम्रो पक्षमा मोडियो । म बंगलादेशी गोलरक्षकलाई धन्यवाद दिन चाहन्छु, किनभने उनले मलाई अहिले तत्काल विश्वकै सबैभन्दा खुसी मान्छे बनाएका छन् । म उनीप्रति आभारी छु ।’

प्रतिक्रिया दिनुहोस्