भारत साफको फाइनलमा प्रवेश, अब नेपालसँग प्रतिस्पर्धा गर्ने



काठमाडौं । भारत माल्दिभ्समा जारी साफ च्याम्पियनसिप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।
बुधबार राति राउण्ड रोबिन लिगको अन्तिम खेलमा आयोजक माल्दिभ्सलाई ३–१ गोल अन्तरले पराजित गर्दै भारतले फाइनलमा स्थान बनाएको हो ।
मालेस्थित राष्ट्रिय रंगशालामा भारतलाई जित दिलाउन कप्तान सुनिल क्षेत्रीले दुई गोल गरे । मानबिर सिंहले एक गोल गरे ।
माल्दिभ्सका अलि अस्फाकले एक गोल फर्काए ।
यस जितसँगै भारत शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो । भारतले ४ खेलमा ८ अंक जोड्यो ।
अब भारतले उपाधिका लागि नेपालको सामना गर्नेछ ।
फाइनल खेल आइतबार नेपाली समय अनुसार अपरान्ह् ४ः४५ बजे सुरु हुनेछ ।
नेपाल उपविजेता बन्दै फाइनल पुगेको हो । नेपालले बुधबार बंगलादेशसँग १–१ गोलको बराबरी खेल्दै फाइनलमा स्थान बनाएको हो ।
पहिलो पटक फाइनल पुगेको नेपालले ४ खेलमा ७ अंक जोड्यो ।
माल्दिभ्सले भने ६ अंक जोडेर तेस्रो स्थानमा रहेर प्रतियोगिताको अन्त्य गरेको छ ।
यस्तै बंगलादेश ५ अंक जोडेर चौंथो र श्रीलंका १ अंक जोडेर पुछारमा रह्यो ।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिप फुटबलमा पहिलो पटक फाइनल पुगेको राष्ट्रिय फुटबल टिमलाई बधाई दिएका छन् ।
बुधबार बंगलादेशलाई बराबरीमा रोक्दै फाइनल पुगेको नेपाली टिमलाई प्रधानमन्त्री देउवाले बधाई दिएका हुन् ।
उनले भनेका छन्, ‘साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टिमका सम्पुर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छा सहित प्रोत्साहन दिन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्