चितुवाको आक्रमणबाट ज्यान गुमाउने बालिकाको परिवारलाई राहत प्रदान



तनहुँ । चितुवाको आक्रमणबाट ज्यान गुमाएकी तनहुँको बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङकी बालिकाको परिवारलाई राहत प्रदान गरिएको छ ।
बन्दीपुर गाउँपालिका र डिभिजन वन कार्यालयले किरिया खर्चबापत बालिकाको परिवारलाई रु एक लाख प्रदान गरेको हो ।
गत सोमबार साँझ चितुवाको आक्रमणमा परी नौ वर्षीया बालिका स्वीकृति थापाको मृत्यु भएको थियो ।
गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले मृतक बालिकाको हजुरबुबा यामबहादुरलाई बुधबार उक्त रकम प्रदान गरे ।
दुवै निकायले राहतस्वरुप तत्कालका लागि रु ५०÷५० हजार सहयोग गरेका हुन् ।
वन कार्यालयले रु दश लाख राहत प्रदान गर्ने भएकामा तत्कालका लागि रु ५० हजार वितरण भएकाले थप रु नौ लाख ५० हजार केही दिनभित्र उपलब्ध गराइने बताइएको छ ।
अध्यक्ष थापाले मानिसको जीवनसँग पैसाको तुलना हुन नसक्ने बताउँदै पीडितलाई मलम लगाउन र सरकार जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको बताए ।
यसैबीच, विगत केही वर्षयता तनहुँ जिल्लामा चितुवाको आतङ्क छ ।
बन्दीपुरमा बालिका आक्रमण गर्ने चितुवाले फेरि मानिसमाथि आक्रमण गर्न सक्ने भएकाले सचेत रहनका लागि साँझ तथा रातको समयमा घर गोठ उज्यालो राख्न डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भने, “घरगोठ बलियो पारौँ, झाडी सफा गरौँ, बिहान साँझ एक्लै नहिँडौँ, बच्चालाई एक्लै घर बाहिर नपठाऔँ, बच्चा तथा वृद्धको विशेष ख्याल र रेखदेख गरौ ।”
विसं २०७४ फागुन १ गते पहिलोपटक भानु नगरपालिका–३ दोरदोरका छ वर्षीय विशाल श्रेष्ठको चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।
त्यसयता चितुवाको आक्रमणबाट जिल्लाका ११ बालबालिकाले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्