परदेशीको दशैंः मन घरदेश र ज्यान परदेश



झापाकी बिन्दा सुवेदी दुबई गएको ४ वर्ष पुरा भयो । यो बिचमा उनले ३ वटा दशैं कटाईन तर निधारमा टिका भने थाप्न पाएकी छैनन् । बाबा को दुर्घटनामा मृत्यु भएपछि पारिवारीक जिम्मेवारी उठाउन उनी दुबई पुगेकी हुन् ।

दुबई पुगेदेखि बिन्दाले चाडपर्व मनाएको रमाइलो गरेको महसुस गर्न पाएकी छैनन्। २ वटा दशै दिनभर काम गएरै बिते, अघिल्लो बर्षको दशैमा उनी बिरामी परेर हस्पिटलको बेडमा परिन् । विन्दा भन्छिन् ‘अहिले पनि विगतमा भन्दा केही फरक छैन, बिहान देखि बेलुका सम्म कामकै चटारो हुन्छ दशैंको कुनै रौनक आउँदैन् परदेशी हरुलाइ ।’ नेपालमा हुदाँ १५ दिन अगाडी बिदा हुन्थ्यो, शहरका मान्छे गाउँघर झर्थे, आफन्त नातागोता सबै जम्मा हुन्थे र पो दशैं आउँथ्यो । अर्काको देश न आफन्त न नातागोता कसरी दशैं आउनु ।

‘दशैमा पिङ् खेल्दा र आमाको आर्शिवाद लिदा निकै खुशि लाग्थियो बिन्दालाई । उनी भन्छिन् ‘यहाँ दशै मनाएपनि आफ्नो देशको ,गाउँको जस्तो रमाइलो कसरी हुन्थियो होला र ।’ कामको बोझ ले कुनदिन कुनपर्व पर्छ भन्ने समेत याद हुन् छोडिसक्यो बिन्दा दुखी हुदै भन्छिन् ‘अघिल्लो बर्ष तिहारको भाईटिकाको दिन नै भुलेछु भाईले असध्यै चित्त दुखायो।’

बिधार्थी भिजामा अष्ट्रेलिया पुगेका राकेश थापालाई दशैमा मासुचिउँरा खादै साथिहरु सँग तास र लंगुरबुर्जा खेलेको खुब याद आउँछ । ‘मासुभात दैनिक खाएको छ, राम्रो लुगा पनि लाएको छ तर घरमा आगनको डिलमा खसिको कान पोलेर खादा जस्तो खुशि र आन्नद कहाँ हुन्छ र परदेशमा ।’ दशैंको दिनलाई सम्झन सम्म पनि चाहादैनन् राकेश । सुनौलो भविष्य खोज्दै २०१५ मा अष्ट्रेलिया गएका उनी दशैंको कुरा निकाल्यो भने मनै अमिलो हुने बताउँछन् । उनि भन्छन् ‘यो बीचका कैयौं दशैंमा मोबाईल समेत अफ गरेर एक्लै रोएको छु, अब फेरी रुने दिन आयो । जब दशैं र तिहारको दिन आउँछ उनलाई सम्हालीन निकै गार्हो पर्छ । घरबाट टीकाको साईतमै भिडीयोकलबाटै टीका लगाईदिने र आशीर्वाद दिने कुरा सुन्दा असाध्यै नरमाइलो लाग्छ । यसपालि भने दशैमा घर आउँने योजना थियो तर कोरोना माहामारीले गर्दा बोडर नखुलेपछि आउन नपाएकोमा दुख लागेको राकेश बताउँछन्।

कम्ती रमाइलो यस पर्वमा नौ दुर्गा भगवतीको पूजाआराधना गर्ने, आफूभन्दा ठूला मान्यजनसंग टीका थाप्ने, आशीर्वाद लिने र वर्षभरी भेट नभएका आफन्तहरु भेट्ने, परदेशमा भएका समेत घर फर्कने, मीठा परिकार खाई मनाउने चलन छ । तर यो परदेशमा हुनेहरुलाई दशैंले छुनै सकेको छैन् । यो पर्वले हर्ष उल्लास होईन पीडा थपीदिएको धेरैको तीतो अनुभव छ परदेश भएका हरुलाई ।

२०१९ मा जापान गएका ओखलढुङ्गाका कृष्ण भट्टराईको पीडा रमेशको भन्दा कम छैन् । दशैं मनाएर जापान आएका उनी बिगतको दशैं परीवारलाई सम्झेरै गएको बताए । “दुर्गा लागे संगै सुरु हुने दशैं पूर्णीमा सम्म मनाउने चलन छ ।” कालरात्री पूजा गर्ने, बोका काट्ने, बिभिन्न परिकार बनाउने गरी मनाईने गरिन्थ्यो । तर यहाँको दशैं न आफन्तजन न मीठो परिकार बेलुकाको बासि खाना खाएर बिताउने हो । “कोठामा बस्दा परीवार, र साथीभाइको याद बढी आउछ, भुल्नकै लागी दशैंको दिनमा समेत काममा जान्छु” । अघिल्लो बर्षमा सगै बस्ने साथिको हातबाट टिका थापेका छन् उनले । यहाँ कतै लिंगे पिङ खेल्न पाइएन, जमरा रोपिएन, टीका थाप्न मामाघर गइएन परदेशमा हुँदा घरदेशको याद सबैलाई आउँछ।

यसपालि तिहारमा भने कृष्णको घर आउँने योजना थियो दिदीले हरेक पटक फोन गर्दा तिहारमा जसरीपनि आउनु भन्नु हुन्छ । भन्छन् ‘ यसबर्षपनि आउन सक्दिन दिदीलाई के जवाफ दिने होला ।’ गाउँघर र देशको याद त हरेक समयनै आउने गर्छ तर पनि चार्डबाडमा बढी नै सताउने गर्छ । रोजगारीका लागी परदेसीएका लाखौं नेपालीहरुको साझाँ पीडा हो यो । उनी भन्छन् ‘ लिंगे पिङ खेल्न नपाएपछि , जमरा नरोपिएपछि , टीका थाप्न मामाघर नगएपछि अनि साथिहरु सँग बसेर तास खेल्न नपाएपछि कसरी आउँछ र परदेशिहरुलाई दशै ।

यहाँ पीडाका बीच पनि कसैको सुन्दर भविश्य लुकेको छ , कसैले २ छाक खानपाईरहेको छन भने रेमिटान्सले देश धानीरहेको छ । यस्तै बाध्यता, पीडा र सुनौलो भविष्य खोज्दै नेपालीले बिदेशी भूमीमा पसिनाले पैसा साटेको छ । चाडपर्वमा घरपरिवारको यादले मुटु भक्कानीदा पनि आफैले आफैलाई सम्हाल्न बाध्य छ । मन घरदेश र ज्यान परदेश बनाएर बाँचीरहेको छन् कयौ नेपाली युवाहरु ।

प्रतिक्रिया दिनुहोस्