वर्तमान सरकार सट्टापट्टाबाट बनेको हो : ओली



बिर्तामोड । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार सट्टापट्टामा बनेको टिप्पणी गरेका छन् । सट्टापट्टा (बार्टर)मिलाउने क्रममा जेठानको मामलाले बडा चर्चा पाएको भन्दै उनले सरकारप्रति कटाक्ष गरे ।
गृहजिल्ला झापाको बिर्तामोडमा बिहीबार उनी आफैँले आयोजना गरेको बडा दसैंको शुभकामना आदानप्रदान कार्यक्रममा भने, ‘लेनदेन र भागवण्डाका आधारमा सरकार सञ्चालन भएको छ । वर्तमान सरकार बार्टर सिस्टममा चलेको छ । लोकतान्त्रिक प्रणालीका शक्ति र निकायहरु आफ्नै स्थान, मर्यादा र सीमामा बस्नुपर्छ ।’
‘जेठानको मामलाले सट्टापट्टा भएको त स्पष्ट देखियो । अरु के के भएको थियो, पछि देखिएला ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले भने, ‘पहिला ब्यापारमा पैसाको कारोबार हुँदैन्थ्यो बाटर सिस्टम हुन्थ्यो धेरै । यो सरकार बनाउँदा पैसाको कारोबार भयो भएन त थाहा भएन । बाटर्र सिस्टम चाहिँ यसपल्ट देखियो । सट्टापट्टा, खुर्सानी दिने पीठो लिने, के दिने अर्को लिने, यस्तो चलन थियो उहिले उहिले । अहिले सरकार बनाउँदा पनि त्यस्तै देखियो ।’
ओलीले परमादेशबाट धर्तीमा पहिलोपल्ट सरकार बनेको भन्दै पनि टिप्पणी गरे । यस्तै उनले अर्ली इलेक्सनको आशंकासमेत व्यक्त गरे । संसदसमेत राम्ररी नचलेको, तीन महिनापछि मन्त्रिपरिषद् विस्तार गरेको त्यो पनि सट्टापट्टा मिलाउनका लागि भएकाले निर्धारित समयअघि नै आम चुनाव हुनसक्ने उनले शंका व्यक्त गरे ।
उनले अर्ली इलेक्सनतर्फ सचेत रहँदै एमालेले नेतृत्व गरिरहेका प्रदेश सरकार र स्थानीय तहका प्रमुखहरुलाई बाँकी समयमा लोकप्रिय र व्यवस्थित विकास निर्माणका काम गर्न निर्देशन दिए ।
ओलीले लोकतन्त्रको माला जपेर लुटतन्त्र मच्चाउन नपाइने पनि बताए । लोकतान्त्रिक विधि र प्रक्रिया विपरीत सरकार सञ्चालन भएको पनि उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्