गण्डकीमा बन्यो एकै वर्ष ११५ झुलुङ्गे पुल



पोखरा । बागलुङलाई झुलुङ्गे पुलको जिल्ला भनेर चिनिन्छ । पर्वतको कुश्मा नगरपालिका–१ पाङदेखि बागलुङ नगरपालिका–१ रामरेखा जोड्ने ५ सय ६७ मिटर लम्बाइको झुलुङ्गे पुल दक्षिण एसियामै लामो दाबी गरिएको छ । आकर्षक डिजाइन र लम्बाईका हिसाबले यहाँका पुलहरूमा प्रतिस्पर्धा छ । गण्डकी प्रदेशमा हालसम्म एक हजार आठ सय ४५ वाट झोलुंगे पुल निर्माण भइकेका छन् । जसमध्ये बागलुङमा सबैभन्दा धेरै चार सय ४८ वटा पुल बनेका छन् ।
म्याग्दीमा दुई सय ४१ वटा झुलुङ्गे पुल निर्माण भएका छन् । लमजुङमा दुई सय आठ, कास्कीमा एक सय ८३, गोरखामा एक सय ६१, स्याङजामा एक सय ५६ पुल बनिसकेका छन् । यस्तै, पर्वतमा एक सय ५०, तनहुँमा एक सय आठ, नवलपर र मुस्ताङमा समान ६५/६५ वटा तथा मनाङमा सबैभन्दा कम ६० वटा पुल निर्माण भएको पूर्वाधार विकास निर्देशनलयले जनाएको छ ।
गत आर्थिक वर्ष २०७७/७८ मा मात्र एक सय १५ वटा थप पुल निर्माण भएका छन् । २५ वटा पुलहरू प्रदेश सरकारको बजेटबाट बनेको छ भने संघ सरकारको बजेटबाट ८८ तथा पालिकाको बजेटबाट दुईवटा पुल बनेको हो ।
झुलुङ्गे पुल रणनीति २०६२ अनुसार स्थानीय स्तरमा झुलुङ्गे पुल निर्माण साविकमा जिल्ला विकास समितिबाट हुँदै आएकोमा अहिले प्रदेश र स्थानीय तहलाई जिम्मेवारी दिइएको छ । एक सय २० मिटरभन्दा लामा पुल प्रदेश सरकार र एक सय २० मिटरभन्दा छोटा पुल स्थानीय तहमा हस्तान्तरण भएका छन् । त्यसको मर्मत पनि सोही सरकारले गर्नेछन् ।
नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार नै स्वीस सरकारले ग्रामिण क्षेत्रमा पुल निर्माणका लागि सहयोग गर्दै आएको छ । नयाँ संरचनाअनुसार प्रदेश स्तरमा आएका पुलको मर्मत र निर्माणका लागि पुनः स्वीस सरकारकै टिवीएसयू संस्थासँग प्रदेशले सम्झौता गरेको छ । स्थानीय पूर्वाधार विभागका कार्यक्रम निर्देशक कृष्णबहादुर कटुवाल, टिवीएस्यूका टीम लिडर बद्री श्रेष्ठ र गण्डकी निर्देशक नारायणप्रसाद बरालबीच त्रिपक्षीय हस्ताक्षर भएको हो ।
‘प्रदेश सरकारले झुलुङ्गे पुल रणनीति बनाइसकेको छ । आवश्यक ठाउँहरुमा पुल निर्माण गर्न सकिन्छ,’ निर्देशक बरालले भने, ‘तत्काल आवश्यक पर्ने ठाउँमा प्रक्रिया अघि बढिहाल्छ । त्यहाँको माग र आवश्यक्ता हेरेर पुल निर्माण गर्छौं ।’
चालू वर्षमा थप डेढ सय झोलुंगे पुल निर्माण गर्ने योजना छ । ‘अहिले योजना छनौट भइरहेको छ । दसैँअघि निर्माण सुरु हुँदैन,’ उनी भन्छन्, ‘पैदल हिँड्दा कम्तिमा १ घण्टा लाग्ने ठाउँमा पुल निर्माण गर्ने हो । खासगरी सडक पुल नभएका ठाउँमा झुलुङ्गे पुल राख्नुपर्छ ।’ योसँगै गण्डकीमा तुइन पूरै विस्थापित भएको छ । तनहुँका दुई ठाउँमा तुइन भए पनि त्यो कामका लागि प्रयोगमा नरहेको र त्यहाँ झोलुंगे पुल पनि आवश्यक नरहेको बरालले बताए ।

प्रतिक्रिया दिनुहोस्