बेलायतमा कोरोना सङ्क्रमण दर उकालो लाग्दै



काठमाडौं । बेलायतमा कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ ।
कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार ९२८ नयाँ सङ्क्रमित थपिएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।
बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ । गएको २४ घण्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ ।
बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ ।
जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात् ८५.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात् ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।
बेलायतमा हाल तेस्रो अर्थात् बुष्टर डोज पनि शुरु गरिएको छ ।
यसैगरी, भारतमा पछिल्लो २४ घण्टामा १६ हजार ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड ४० लाख ५२ हजार ६८७ पुगेको छ ।
यो समाचार तयार पार्दासम्म भारतमा २ लाख ८ हजार ३२४ जना सक्रिय संक्रमित छन् ।
यस्तै त्यहाँ एकैदिन १६३ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ५२ हजार १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्