नरभक्षी चितुवा नियन्त्रण गर्न सुरक्षाकर्मी परिचालन



अर्घाखाँची : भूमिकास्थान नगरपालिकामा चितुवा आतंक फेरि सुरु भएको छ । केही वर्ष रोकिएको चितुवा आतंक फेरि बढेपछि स्थानीय त्रसित भएका छन् । भूमिकास्थान–९ गौचौरका ४ वर्षीय अर्यान घिमिरेलाई शनिबार चितुवाले आक्रमण गरी घाइते बनाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

तीन वर्षमा १२ बालबालिकाको मृत्यु

पछिल्लो तीन वर्षको अवधिमा चितुवाको आक्रमणमा परी १२ बालबालिकाले ज्यान गुमाएका डिभिजन वन कार्यलयका सहायक वन अधिकृत शीला पोखरेलले बताइन् । यस अवधिमा चितुवाको आक्रमणमा परेका १९ बालबालिकामध्ये १२ जनाको मृत्यु भएको हो । यस अवधिमा ६ वटा चितुवासमेत मरेको पोखरेलले बताइन् ।

चितुवाले बालबालिकामाथि दिउँसै आक्रमण गर्ने गरेको स्थानीय सिर्जन भुसालले बताइन् । ‘बालबालिकालाई विद्यालय पठाउनसमेत डरमर्नु छ,’ उनले भनिन्, ‘चितुवा आतंक नियन्त्रण गर्न सरकारले पनि वास्ता गरेको छैन ।’ नरभक्षी चितुवा पत्ता लगाउन भन्दै गत वर्ष विशेषज्ञ टोली नै अर्घाखाँची आएको थियो । तर, टोली चितुवा फेला नपारी फर्किएको पोखरेलले बताइन् ।

शनिबार बालकलाई आक्रमण गर्ने चितुवा नियन्त्रण लिन सुरक्षाकर्मी परिचालन गरिएको छ । सेना, सशस्त्र र नेपाल प्रहरी अहिले घटनास्थल आसपासका जंगलमा परिचालन भएका प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । स्थानीय प्रशासनले पटक–पटक सुरक्षाकर्मी परिचालन गरे पनि नरभक्षी चितुवा भने फेला परेको छैन ।

घटनास्थलमा बाख्रा राखेर चितुवा मार्ने उपाय अपनाइएको भुसालले बताए । सेना र प्रहरीसँगै डिभिजन वन कार्यालयको टोली, स्थानीय जनप्रतिनिधि र स्थानीय वासिन्दासमेत नरभक्षी चितुवाको खोजीमा लागेका छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्