रुकुमपश्चिममा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात प्रहरी घाइते



रुकुम पश्चिम । रुकुम पश्चिमको सदरमुकाम खंलगामा प्रहरी र स्थानीय युवाबीच झडप हुँदा ७ जना प्रहरी घाइते भएका छन् ।
शुक्रबार राति बागबजारमा भएको झडपका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहरासहित ७ जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कपिल शाहीले जानकारी दिए । घाइते प्रहरी सहायक निरीक्षक बोहरालाई राती नै थप उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर लगिएको थियो । त्यहाँपनि उपचार सम्भव नभएपछि काठमाडौं लगिएको उनले जानकारी दिए । त्यसैगरी प्रहरी हवल्दार कालीबहादुर बोहराको दाहिने हातको बुढी औलामा र ढाडमा चोट लागेको छ भने प्रहरी जवान लक्ष्मण गुरुङको टाउकोमा सामान्य चोट लागेको छ । अन्य चार जना प्रहरी कर्मचारीहरू पनि सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
मुसिकोट नगरपालिका–१ स्थित बागबजार नजिकै छेउमा पार्किङ्ग गरी राखेको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुंगा र बियरको बोतल प्रहार गरेर सिसा फुटाएको भन्ने सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्ट बागबजारको संयुक्त टोली परिचालन गरिएको थियो । टोलीले नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथी नै ढुंगामुढा र बोतल समेत प्रहार गरेपछि मुठभेडको अबस्था सिर्जना भएको थियो । घटनामा संलग्न ६ जना पक्राउ परेका छन् ।

प्रतिक्रिया दिनुहोस्