स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोक्ने प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ? प्रभु साह



रौतहट । नेकपा एमालेका नेता तथा पूर्वमन्त्री प्रभु साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड कुनै पनि कोणबाट माओवादी नरहेको टिप्पणी गरेका छन् । नेता साहले प्रचण्ड अब प्रचण्ड नभएर पुष्पकमल दाहाल मात्र भएको टिप्पणी गरे ।
गृह जिल्ला रौतहटमा बडा दसैँ, दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले भने, ‘माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र हुन ।’
साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे । ‘माओवाद भनेको इमानदार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?,’ उनले प्रश्न गरे । कम्युनिस्टको भोट लिएर प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साँच्चै अर्थमा गद्दार रहेको उनले दाबी गरे ।
रावण र महिसासुर सत्तामा मात्तिए जसरी प्रचण्ड र नेपाल मात्तिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप पनि उनले लगाए । देशको व्यवस्थाकै कमी कमजोरीको कारण पछिल्लो ५ वर्षको अवधिमा ६ सरकार र सबैमा प्रचण्डको उपस्थिति भएको साहले बताए ।
‘प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो । कतिपयले पारस नै प्रचण्ड भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । अब उनै प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनतालाई धोका दिने सँधै बेघर हुन्छ,’ साहले भने ।
संसारमै कतै नदेखिएको ७६१ सरकार नेपालमा चलाउन नसकिने उनको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीको कारण कसैलाई बहुमत न आउने र सरकारमा आउने जाने अवस्था बनेको साहले बताए ।

प्रतिक्रिया दिनुहोस्