सुरक्षा घेरा भित्र दुर्गा भगवतीको मूर्ति विसर्जन



कपिलवस्तु । कपिलवस्तुको कृष्णगनरमा सुरक्षा घेरामा दुर्गा भगवतीको मूर्ति शनिबार विसर्जन गरिएको छ । विजयादशीको नवरात्रीको पहिलो दिन नै कृष्णनगरमा दुर्गा भगवतीको मूर्ति प्रदर्शनका लागि निकालिएको थियो ।
कृषण्गनर बजार क्षेत्रमा यस वर्ष एक दर्जन मूर्ति निकालिएको थियो। कृष्णनगरमा मूर्ति विसर्जनकाक्रममा विगतका वर्षहरुमा साम्प्रदायिक घटना भएको थियो । २०७६ सालमा त्यहाँ मूर्ति विसर्जनका बेला एक जनाको मृत्यु हुनको साथै कैयो घाइते भएका थिए ।
२०७७ सालमा कोरोनाका कारण निकै कम मूर्ति निकालिएको थियो । यस वर्ष फेरि संभावित घटनालाई रोक्न कृष्णगनर बजार क्षेत्रदेखि मूर्ति सेलाउने स्थान सुरई नदीसम्म ठूलो मात्रामा प्रहरी परिचालन गरिएको थियो । शनिबार बिहानै प्रजिअ चक्रपाणी पाण्डेय, प्रहरी उपरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक डिबि कार्की, प्रहरी नायब उपरीक्षक धर्मराज भन्डारीसहितको टोली समेत कृष्णगनर पुगेका थिए ।
शनिबार कृष्णगनर क्षेत्रमा मूर्ति विसर्जनकाक्रमा नेपाल र सशस्त्र प्रहरी गरी ३ सय बढी सुरक्षाकर्मी परिचालन गरिएको प्रहरी उपरीक्षक कार्कीले बताए । यस वर्ष पनि त्यहाँ हुन सक्ने सम्भावित घटनालाई मध्यनजर गरी नवरात्र भर त्यहाँ ठूलो मात्रमा प्रहरी परिचालन गरिएको प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए । कृष्णनगरमा हुन सक्ने सम्भावित दंगालाई रोक्न मूर्ति विसर्जन दिउँसो ४ बजे नै गरी सक्नु पर्ने नगर प्रमुख रजत प्रताप शाहसहितको सर्वपक्षीय समितिले निर्णय समेत गरेको थियो ।
यस्तै बिहीबार भारतको नौगढमा भएको दुई देशका सुरक्षा अधिकारीहरुको बैठकमा सीमा क्षेत्रमा असोज २९ र ३० गते मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय गरेको थियो। मूर्ति विसर्जन शान्तपूर्वक सम्पन्न गर्न कृष्णनगर क्षेत्रमा सिसि टिभिले समेत निगरानी गरिएको थियो । प्रजिअ चक्रपाणी पाण्डेयले मूर्ति विसर्जनकाक्रममा हुन सक्ने संभावित झडप र घटनालाई रोक्न जिल्लाभर शान्ति सुरक्षालाई मजबुत पारिएको बताए ।
मूर्ति विसर्जनकाक्रममा कही कतै अप्रिय घटना नभएको उनले बताए । कृष्णगनरका मेयर रजत प्रताप शाह मूर्ति विसर्जनमा आफै सहभागी भएका थिए । उनले सबैको प्रयासले यस वर्ष कृष्णगनरमा शान्तपूर्वक मूर्ति विसर्जन भएको बताए ।

प्रतिक्रिया दिनुहोस्