रूसले भोलि युक्रेनमा आक्रमण गर्न सक्ने घोषणा



काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले फेब्रुअरी १६ मा रूसी आक्रमण हुन सक्ने घोषणा गरेका छन् । युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो ।
जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, “हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ’ उल्लेख गरेका छन् । उनले युक्रेनले बुधबार एकता दिवस मनाउने बताएका छन् । यस सम्बन्धी अध्यादेशमा हस्ताक्षर भइसकेको बताइएको छ ।
रुसले युक्रेनी सीमानजिकै एक लाखभन्दा बढी सेना परिचालन गरेको छ । सेनाको उपस्थितिले अमेरिका र नाटो सहयोगीहरू बीच चिन्ता र तिक्तता बढाएको छ । तर रुसले निरन्तररूपमा आक्रमणको कुनै योजना नभएको बताउँदै आएको छ ।
युक्रेन, रुस र नाटो राष्ट्रहरूका अधिकारीहरूले यस क्षेत्रमा तनाव कम गर्ने आशाका साथ पछिल्ला दिनहरूमा कूटनीतिक छलफललाई तिव्रता दिंदै आएका छन् । तर वार्ताले कुनै सफलता भने हाँसिल गर्न सकेको छैन ।
यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले शनिबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुरा गर्दै रुसले युक्रेनमा आक्रमण गरेमा ‘छिटो र गम्भीर लागत’ लाग्ने बताएका थिए । बाइडेन प्रशासनका अधिकारीहरूले युक्रेनमाथि “अब कुनै पनि दिन“ आक्रमण हुन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्