आँधीपछि आएको बाढीमा एकै परिवारका ९ जनासहित १२ जनाको मृत्यु



काठमाडौं : इटालीको दक्षिणी सहर सिसिलीमा आँधीपछि आएको बाढीका कारण एकै परिवारका ९ जनासहित १२ जनाको ज्यान गएको छ । 

यस हप्ता इटालीमा आएको आँधी र बाढीका कारण मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ । इटालीका विभिन्न छ क्षेत्रमा सम्भावित आँधीका कारण उच्च सतर्कता अपनाउन सरकारले नागरिकहरूलाई सचेत गराएको छ । 

मृतक एकै परिवारका नौ जनालाई पानीले डुबाएको घरभित्रबाट निकालिएको थियो भने अन्य तीन जनालाई नजिकैको एउटा नदी किनारबाट उद्धार गरिएको थियो । अजी न्यूज एजेन्सीका अनुसार डुबानमा परेको उक्त घरका तीन सदस्य भने रूखमा चढेर बाँच्न सफल भएका थिए । 

यही हप्ताको सुरुमा आएको आँधीका कारण सिसिलीमा धेरैवटा सडक अवरुद्ध भएका छन् र नगरका मेयरले विद्यालय, पार्क र भूमिगत सडक मार्ग बन्द गर्न आदेश दिएका छन् । 

इटालीको उत्तरी क्षेत्र र भेनिसको वरिपरि भयाङ्कर आँधी सहित वर्षा भएको थियो जसका कारण कम्तीमा २० जनाको मृत्यु हुनुका साथै पूर्वाधारमा व्यापक नोक्सानी भएको थियो । 

इटालीको नागरिक सुरक्षा निकायले विगत ५० देखि ६० वर्षको अविधिमा यति ठूलो जनधनको क्षति कहिल्यै नभएको बताएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्