नवलपुरमा निर्माणाधीन सब–स्टेसनको काम अन्तिम चरणमा



सर्लाही । सर्लाही जिल्लामा केन्द्रीय विद्युत् प्रसारण लाइन विस्तार गर्न सब–स्टेसन निर्माण अन्तिम चरणमा पुगेकोे छ ।
लालबन्दी नगरपालिका–१ को नवलपुरमा १३२/३३ केभिए प्रसारण लाइनका लागि सबस्टेशनको निर्माण जारी छ ।
जिल्लामा वितरण गरिएको विद्युत् सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले नेपाल विद्युत् प्राधिकरणले करिब रु ४६ करोड ३६ लाखको लागतमा सो सबस्टेशन बनाएको हो । आर्थिक वर्ष २०७५/७६ देखि यसको निर्माण सुरु भएकोे हो ।
सबस्टेसनका प्रमुख निरन्जन साहले लकडाउनका कारण समयमै निर्माण सम्पन्न गर्न सक्ने अवस्था नदेखिएको भए पनि चालु आव भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए ।
अबको एक महिनामा निर्माण सम्पन्न हुने गरी निर्माण कम्पनीले काम गरिरहेको उनले बताए ।
जिल्लामा रहेका तीन सबस्टेसन ३३/११ केभिएका मात्र रहेका कारण विद्युत्सम्बन्धी समस्या आएको थियो । अब यो सबस्टेसन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिइएको छ ।
अहिले जिल्लामा रहेका तीनवटा सबस्टेसनले धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सबस्टेसनबाट विद्युत् ल्याउनु परिरहेको छ ।
अब नवलपुरको सबस्टेसन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनका लागि नवलपुरबाट सिधै र हरिपुर र मलङ्गवाका सबस्टेसनबाट सेवा सञ्चालन हुनेछ ।
सबस्टेसन निर्माण सम्पन्न भएपछि हरिपुर, मलङ्गवाका सबस्टेसनमा विद्युत् सेवा प्रवाह गरिने र जिल्लामा विद्युत्सम्बन्धी समस्या समाधान हुने प्रमुख साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्