घडेरी सम्याएको माटो थुपारेर ग्रामिण सडकमा अवरोध



खोटाङ : खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा घडेरी सम्याएको माटो थुप्रोले ग्रामिण सडक छेकिएको छ । हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा जयराममा घडेरी सम्याउँदा निस्किएको माटोको थुप्रोले जयराम-गोपीटार-गुर्दुम, निङ्लाम-झापा–दाम्ली सडक छेकिएको हो । जयरामका एक स्थानीयको घडेरी सम्याएको माटो सो सडकको जिरो प्वइन्टमा थुपारेर सडक पुरिएको बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।

जयराम-गोपीटार-गुर्दुम, निङ्लाम-झापा-दाम्ली सडकको जिरो प्वइन्ट स्थानीय मुनाल कार्कीको जग्गामा पर्छ जुन मध्यपहाडी लोकमार्गकै किनारामा रहेको छ । तर हाल सो सडकलाई बन्द गर्नेरगराउने नियतकै साथ सडकको जिरो प्वइन्टमा माटो थुपारिएको स्थानीय बताउँछन् ।

जयरामस्थित दुधकोसीमा स्थायी पुल बन्नुअघि बेलिब्रिज सञ्चालन गर्ने गरिएको थियो । त्योबेला सोही कच्ची सडकबाट बेलिब्रिजमा पुगिन्थ्यो । सो सडकलाई नदीको गिटी बालुवा निकासीका लागि पनि उपयोग गरिएको थियो । २०६९ सालतिर सोही सडकलाई दुधकोसी किनारबाट गोपीटार–गुर्दुम, निङ्लाम–झापा–दाम्लीसम्म विस्तार गरिएको वडाध्यक्ष राईले बताए ।

हाल हलेसी तुवाचुङ नगरपालिकाको बाहुनीडाँडा र डिकुवाका स्थानीयले उपयोग गर्दै आएको सडकको मुखमा गत माघ अन्तिम साता माटो थुपारेर अवरोध गरिएको हो । थुपारिएको माटो हटाएर सडक खुलाइदिन भन्दै स्थानीय टेकमान राई, रविन राई, लगन राई, सिर्जना राई, चन्द्रबहादुर राई लगायतको १० जनाको टोलीले २ माघमा नगरपालिकामा निवेदन दिएका छन् ।

उनीहरुले अवरुद्ध सडक तत्काल खुलाएर जयरामघुम्ती–गोपीटार–झापा–चंखेपु–कुर्ले सडक विस्तारका लागि समेत बजेट माग गरेका छन् । सो सडकलाई सञ्चालनमा ल्याउनका लागि वैकल्पिक उपायको खोजी सुरु गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए ।

प्रतिक्रिया दिनुहोस्