नेकपा एसको केन्द्रीय कमिटी सदस्य छनोटप्रति असन्तुष्टि



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीमा केन्द्रीय कमिटी विस्तारका क्रममा भएको सदस्य छनोट र कार्यविभाजनप्रति असन्तुष्टि देखिएको छ ।
पार्टी नेतृत्वले केन्द्रीय सदस्य छनोट गर्दा मापदण्ड बनाएर गरिएको बताएपनि उक्त मापदण्ड व्यक्ति विशेषमा मात्र लागु गरिएको भन्दै सो पार्टीका युवा, विद्यार्थीहरूले असन्तुष्टि जनाएका हुन् ।
‘कुन विधि, कसको लागि, मापदण्ड एउटा पात्र छनोट अनेक खल्तीबाट आफू अनुकूल आफ्नो त्यो पनि निजी । सङ्कीर्ण भावना राखेर पार्टी निर्माण गर्ने गलत सोच राख्ने’, नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले असन्तुष्टि जनाउँदै भनेका छन्, ‘अहिलेदेखि नै गलत मानसिकताबाट व्यक्ति छनोटलाई रुचाउने परिपाटीबाट असल/सकारात्मक अभ्यास गर्ने नयाँ संकल्प चाहिँ भन्ने मात्रको नारा होला होइन कमरेड ?’
त्यस्तै उनले केन्द्रीय कमिटी निर्माण गर्ने जिम्मा पाएका नेताहरूलाई आफ्नै अनुहार हेर्न भनेका छन् ।
अध्यक्ष पराजुलीले सामाजिक सञ्जाल फेसबुकमार्फत असन्तुष्टि जनाएका हुन् ।
अध्यक्ष माधवकुमार नेपालले केन्द्रीय कमिटी बैठक र स्थायी समिति बैठकले गरेका निर्णयसहित केन्द्रीय कमिटी विस्तार र नेताहरूको कार्य विभाजनसहितको अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्