एनआरएनए केन्द्रीय समितिको कार्यकाल ६ महिना थप



काठमाडौं । गैरआवासीय नेपाली(एनआरएनए)को केन्द्रीय समितिको कार्यकाल ६ महिना थपिएको छ ।
शनिवार राती अबेरसम्म बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल आगामी ६ महिनाका लागि थप गर्दै नोभेम्बरको ३० तारिख भित्रमा अधिवेशन गर्ने निर्णय गरेको हो ।
अहिलेको कार्य समितीको अवधि आउँदो शुक्रवार देखि समाप्त हुँदैछ । यसै महिना हुने भनिएको अधिवेशन विवादका कारण रोकिएको हो । विवादहरुबारे परराष्ट्र मन्त्रालयमा उजुरी समेत परेको थियो ।
दुई साता अघि अधिवेशन रोक्न र उठेका विवादहरु समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनको अधिवेशनमा अन्योलता छाएको थियो । त्यसलगत्तै बसेको केन्द्रीय कमिटी बैठकले विवाद समाधानका लागि ६ महिना कार्यकाल थप्दै नोभेम्बरको ३० तारिखभित्र अधिवेशन गर्ने निर्णय गरेको हो ।
केन्द्रीय कमिटीले बैठकले परराष्ट्र मन्त्रालयले उठाएका प्रतिनिधिसहित विवाद समाधानका लागि अध्यक्ष कुमार पन्तलाई जिम्मा समेत दिएको छ । विवाद समाधान समितिमा पूर्वअध्यक्षहरु सामेल हुनेछन् ।
अध्यक्ष पन्तले अहिले देखिएका समस्याहरु समाधानका लागि आफूहरु सक्षम रहेको र चाँडै समस्या समाधान भई अधिवेशन कार्य अघि बढ्ने जानकारी दिए ।
एनआरएनले नोभेम्बर ३० भित्र अधिवेशन गरिसक्ने जनाएपछि ठ्याक्कै मिति भने घोषणा गरिसकेको छैन । पन्तका अनुसार परराष्ट्र मन्त्रालय लगायत सबै सरोकारवालासँग छलफल पछि मिति घोषणा गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्