मन्त्री झाँक्रीले लगाइन वामदेवसँग दसैं टीका



काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले वामदेव गौतमसँग दसैं टीका लगाएकी छन् ।
एमालेका पूर्व उपाध्यक्ष तथा राष्ट्रिय सभाका सदस्य गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीका अनुसार टीका लगाउन मन्त्री झाँक्री आइतबार गौतम निवास पुगेकी हुन् ।
‘आज मान्यवरबाट टीका ग्रहण गर्दा त्यतै भेट भयो’, सुवेदीले गौतम निवासमा समूहमा लिइएको फोटो राख्दै सामाजिक सञ्जालमा लेखेका छन् ।
एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादी पार्टीको सचिव रहेकी झाँक्री अहिले शहरी विकासमन्त्री छन् ।
एमालेबाट राजीनामा दिएर बसेका गौतम अहिलेसम्म एकीकृत समाजवादीमा जोडिएका छैनन् । गौतमलाई आफ्नो पक्षमा ल्याउने प्रयास अन्तर्गत एमाले र एकीकृत समाजवादी दुवै पक्षका नेताहरूले भेटवार्ता गरिरहेका छन् । यसैबीच दसैं टीका लगाउने सन्दर्भ मिलाएर झाँक्रीले गौतमसँग भेटवार्ता गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्