दोलखामा ‘हाई अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता हुने



दोलखा । दोलखाको चरिकोटमा पहिलो संस्करणको ‘हाइ अल्टिच्युड’ राष्ट्रिय रेस्लिङ प्रतियोगिता आयोजना हुने भएको छ ।
प्रदेश खेलकुद विकास परिषद् बागमती र नेपाल रिङ रेस्लिङ संघको संयुक्त आयोजनामा राष्ट्रिय रेस्लिङ प्रतियोगिता कात्तिक १३ गते आयोजना हुने भएको हो ।
दोलखा सदरमुकाम चरिकोटमा आइतबार आयोजित पत्रकार सम्मेलनमा जिल्लाको प्राकृतिक र पर्यटकीय दृष्टिकोणले प्रसिद्ध तथा रमणीय स्थल चरिकोटको भ्युटावरस्थित फुटबल मैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको जानकारी गराइयो ।
प्रदेश खेलकुद परिषद् बागमतीका सदस्य सचिव सूर्यलाल भण्डारीले विश्वमा कतै पनि उच्च पर्वतीय क्षेत्रमा रेस्लिङ नभएको अवस्थामा प्रदेश सरकारले दोलखामा प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए ।
उनले दोलखामा हुने ‘हाई अल्टिच्युड’ राष्ट्रिय रेस्लिङको आयोजनाबाट यस क्षेत्रमा पर्यटकीय गतिविधि बढ्ने अपेक्षा व्यक्त गरे । प्रतियोगिता गरेर अर्को वर्ष अन्तर्राष्ट्रिय स्तरको ‘हाई अल्टिच्युड’ रेस्लिङ प्रतियोगिता आयोजना गर्ने लक्ष्य प्रदेश सरकारको रहेको सदस्य सचिव भण्डारीको भनाइ छ ।
राष्ट्रिय रिङ रेस्लिङमा नुवाकोटे टाईगर, थागु, डेभिड, साईन, टुप्पी ग्याङ, एक्स हिरो, लेडी एञ्जल, तन्नु, सिजे, एससी, जोन लगायत महिला तथा पुरुष खेलाडीले प्रतिस्पर्धा गर्ने बताईएको छ ।
प्रतियोगितामा हेभी वेट च्याम्पियनले १ लाख ५० हजार रूपैयाँ, हार्डकोर च्याम्पियनले १ लाख २० हजार, मिडलवेट च्याम्पियनले ८५ हजार, ट्याग टिम च्याम्पियनले ७५ हजार, लाईट वेट च्याम्पियनले ५० हजार र ट्रिपल थ्रेट च्याम्पियनले ४५ हजार रुपैयाँका साथमा मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । रेफ्रीको रुपमा प्रदिप पाण्डे, विकास खड्का र शिसम मैनी रहने आयोजकले जानकारी दिएको छ ।
प्रतियोगितामा करिब ३० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रदेश सरकारले प्रतियोगिता आयोजनाका लागि १० लाख रुपैयाँ उपलब्ध गराउनेछ । अन्य नीजि क्षेत्र, जिल्लाका स्थानीय तह सहितका निकायको सहयोगबाट बाँकी रकम जुटाउने आयोजकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्