कपिलवस्तुको कृष्णनगरमा फैलिएको झाडापखाला अझै नियन्त्रण बाहिर



कपिलवस्तु । दुई साताअघिदेखि कपिलवस्तुको कृष्णगनर नगरपालिकामा फैलिएको झाडापखालाको प्रकोप अझै नियन्त्रण्मा आउन सकेको छैन भने हालसम्म चारजनाको मृत्यु भएको छ ।
गत असोज १८ गतेदेखि कृष्णगनर नगरपालिकाको वडा नम्बर ७, ८ र ९ को एक दर्जन गाउँमा फैलिएको झाडापखालाको प्रकोपबाट बिरामीको संख्या निरन्तर बढ्दै गएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीय बालकको निजी क्लिनिक, ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पतालमा ल्याउँदै गर्दा झाडापखालाकै कारण मृत्यु भएको छ ।
यस्तै हालसम्म कृष्णनगर नगरपालिका वडा ७, ८ र ९ वडामा गरी ८ सय ८५ जना संक्रमित भएको र २५ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।
अहिले पनि बहादुरगंज अस्पतालमा १९ जना झाडापखालाका बिरामीहरुको उपचार भइरहेको छ । कृष्णनगर नगरपालिकामा असोज १८ गते फैलिएको झाडापखालाका बिरामीको संख्या घटेर प्रकोप नियन्त्रणमा आए पनि विगत २÷३ दिनमा नयाँ बिरामीको संख्या अपेक्षाकृत ढंगले घट्न नसकेको स्वास्थ्य कार्यालयका प्रमुख हेमराज पाण्डेयले बताए ।
अस्पतालमा झाडापखालाका बिरामी दैनिकरुपमा १० देखि २० जनासम्म आउने गरेका छन् । त्यस भेगको नल तथा खानेपानीको धारा गरी १५ स्थानबाट पानीको नमुना संकलन गरी परीक्षण गर्दा दूषित पानी भेटिएको थियो । पानीमा इकोली भेटिएको प्रमुख पाण्डेयले बताए ।
नगरप्रमुर रजत प्रताप शाहले सचेत तथा सरसफाईमा ध्यान नदिँदा त्यस क्षेत्रमा झाडापखाला फैलिएको बताए । उनले नगरपालिकाले त्यस क्षेत्रमा निरन्तर सचेतनामूलक अभियान चलाएको बताए ।
उता यशोधरा गाउँपालिका–८ खोरियामा फैलिएको झडापखालाको प्रकोप अझैसम्म पुर्ण नियन्त्रण्मा आएको छैन ।
त्यहाँ हालसम्म २ सय ६३ जना झाडापखालाका बिरामी भएको गाउँपालिका स्वास्थ्य संयोजक बिरेन्द्रकुमार मिश्राले बताए । ४ जना अस्पतालमा अझै उपचार गराइरहेका छन् । त्यहाँ झाडापखालाबाट एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्