संसद बैठक बुधबार तर कार्यसूचीमा छैन एमसीसी



काठमाडौं । नेपाली कांग्रेसले बुधबार बस्ने प्रतिनिधिसभाको बैठकको बैठकका एमसीसी टेबल हुने बताइरहँदा सम्भावित कार्यसूचीमा परेको छैन ।
संघीय संसद सचिवालयले बुधबारको प्रतिनिधिसभाको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गर्दा एमसीसी परेको छैन । सरकारले एमसीसी बुधबारको बैठकमा टेबल गर्ने भने पनि कार्यसूचीमा भने यो एजेण्डा छैन । कार्यसूचीमा प्रतिवेदन पेश र शोक प्रस्तावमात्रै उल्लेख छ ।
कार्यसूचीअनुसार संसदको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७७÷०७८ पेश गर्नेछन् ।
यस्तै,सभामुखले शोक प्रस्तावहरु प्रस्तुत गर्नेछन् । नेपाली कांग्रेसका संविधानसभा सदस्य जगतबहादुर ताजपुरियाको निधनमा शोक प्रकट गर्ने कार्यसूची छ । यस्तै, नेकपा एकीकृत समाजवादीका लक्ष्मीदास मानन्धर र दुमन सिंह चापाको निधनप्रति श्रद्धाञ्जली प्रकट गर्ने कार्यसूची छ ।
यसैबीच बैठकको एजेण्डा तय गर्न बुधबार विहान साढे ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । बैठकमा एमसीसीलाई एजेण्डा बनाउने विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्