कांग्रेस भातृ संगठनहरू फेरि पनि तदर्थ



काठमाडौं । नेतृत्वविहीन भएका सत्तारुढ दल नेपाली कांग्रेसका भ्रातृ संगठनहरू विघटन भएका छन् । अधिकांश भातृ संगठनका अध्यक्षहरू पार्टी केन्द्रीय सदस्य निर्वाचित हुँदा नेतृत्व नेतृत्वविहीन भएका थिए ।
दुई महिनाअघि सम्पन्न मातृ पार्टीको १४ औं महाधिवेशनबाट नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत, नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगाना, दलित संघका अध्यक्ष मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघका अध्यक्ष डा. डीला संग्रौला लगायत केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
मंगलबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले सबै भातृ संगठनको केन्द्रीय कार्यसमिति भंग गरेको हो । नेतृत्वविहीन भएको र लामो समयदेखि कार्यकाल समाप्त भएपछि भातृ संगठन निष्कृय बनेका थिए ।
लामो समयदेखि अधिकांश भातृ संगठनको केन्द्रीय समितिको कार्यकाल समाप्त भए पनि महाधिवेशन हुन सकेको छैन ।
कांग्रेसका नेविसंघ, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल आदिवासी जनजाति संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल महिला संघ, नेपाल भूतपूर्व सैनिक संघ लगायतका भातृ संगठन छन् ।
पार्टी कार्यसम्पादन समितिको पछिल्लो निर्णयसँगै केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारी स्वतः भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् ।
विगठित संगठनका तदर्थ समिति यही महिनाभित्र (फागुनभित्रै) गठन हुने पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले बताए । उनकाअनुसार सभापति शेरबहादुर देउवासँग परामर्श गरेर तदर्थ समिति गठन हुनेछन् ।
नेपाल मगर संघ र नेपाल मुस्लिम संघबाहेक अन्य भातृ संस्थाको कार्यकाल सकिएको छ । नेपाल दलित संघको महाधिवेशन आगामी चैत ७, ८ र ९ गतेका लागि तय भएको छ ।
विभिन्न बहानामा भातृ संगठन माथि हस्तक्षेप गर्दै महाधिवेशन टार्दा कांग्रेस नेतृत्व आलोचित बन्ने गरेको छ । पछिल्लो निर्णयले सबै संगठनको महाधिवेशन तत्काल नहुने निधो भएको छ ।
आसन्न स्थानीय तहको निर्वाचनको क्रममा पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न आवाधिक महाधिवेशन गरी कार्यकर्तालाई उत्साहित र जिम्मेवार बनाउनुको साटो फेरि पनि तदर्थवाद लाध्दा पार्टी संगठनलाई ठूलो नोक्सान हुने संस्थापन इतर समूहको तर्क छ ।

प्रतिक्रिया दिनुहोस्